कांग्रेसलाई अग्रजको सुझाव : ‘पार्टी एकतावद्ध गरौं, संगठन विस्तारमा जोड दिऔं ’

नौलो समाचार संवाददाता
२०८० मंसिर १६, शनिबार मा प्रकाशित ३४७ पटक पढिएको
कांग्रेसलाई अग्रजको सुझाव :  ‘पार्टी एकतावद्ध गरौं, संगठन विस्तारमा जोड दिऔं ’

धुलिखेल \ नेपाली कांग्रेस काभ्रेले पार्टीका अग्रज नेताहरुसंग अन्तरक्रिया गरी सुझाव लिएको छ ।

शनिवार धुलिखेल नगरपालिकाको सभाहलमा कार्यक्रम गरेर कांग्रेसले पार्टीका अग्रज नेता, जिल्लाका पूर्व पदाधिकारी, जिल्ला सदस्यहरु, २०४९ र २०५४ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित तत्कालिन गाउँ विकास समितिका अध्यक्ष, उपाध्यक्ष, इलाका सदस्यहरुसंग सुझाव लिएको हो ।

अन्तरक्रियामा सहभागी अधिकाशं अग्रज नेताहरुले पार्टीलाई एकतावद्ध गराएर अघि बढ्न, गुटको अन्त्य गर्न, अनुशासन कायम गर्न सुझाव दिएका थिए । उनीहरुले कार्यकर्ताको संरक्षणमा जोड दिदैं प्रशिक्षण र सांगठनिक गतिविधी लिएर वडा तहसम्म जानुपर्ने बताएका थिए । उनीहरुले यस्तो अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा जिल्ला कार्यसमितिको प्रशंसा गर्दै वडातहसम्म यस प्रकारको कार्यक्रम लैजानुपर्ने सुझाव दिएका थिए ।

कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले नेपाली कांग्रेस काभ्रे बनाउन चार पुस्ताको योगदान गरेको चर्चा गरे । पार्टीका उम्मेदवारलाई नै हराउने प्रवृतीलाई पार्टीमा प्रशय दिन नहुने भन्दै त्यसका विरुद्ध आफू सदैव रहने बताए ।

संविधानसभा सदस्य हर्षजित लामाले अस्थीरता चाहने र नयाँ भनेर आएका शक्तिहरु कांग्रेस र मुलुकको लागि चुनौती भएको बताए ।

कांग्रेस बाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेले पार्टी अप्ठ्यारो परिस्थितीमा रहेकोले आफूले सुध्रन तयार रहेको बताए भन्दै सबै नेता, कार्यकर्ता सुध्रन तयार हुनुपर्ने बताए ।

‘काभ्रे कांग्रेस कसरी अघि बढ्ने’ भन्ने बिषयमा अग्रजहरुको सुझाव र मार्गनिर्देशन लिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला सभापति तीर्थबहादुर लामाले जानकारी दिए । उनले अग्रजहरुको लगानीको कारण पार्टी यो स्थानमा रहेको बताउँदै अग्रजहरुको मार्गदर्शन अनुसार अघि बढ््ने प्रतिवद्धता जनाए । काभ्रे कांग्रेस संगठित र व्यवस्थित रुपमा अघि बढेको भन्दै उनले आम काभ्रेली जनताको पक्षमा दृढ रहेको बताए ।

कार्यक्रममा १४ औं महाधिवेशनमा निर्वाचित महासमिति सदस्य, महाधिवेशन प्रतिनिधीका साथै १४ महाधिवेशनमा विभिन्न पदका प्रत्यासीहरु, भातृ तथा शुभेच्छुक संस्थाहरु समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस