काभ्रेमा नेत्ररोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

नौलो समाचार संवाददाता
२०८० मंसिर २२, शुक्रबार मा प्रकाशित २५५ पटक पढिएको
काभ्रेमा  नेत्ररोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

बनेपा / अमेरिका र नेपालका नेत्ररोग विशेषज्ञ सहभागी अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेमा शुरु भएको छ ।

बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले आयोजना गरेको सम्मेलनमा सम्मेलनमा अमेरिकाका करिब ५० र नेपालका करिब १ सय ५० गरी २ सय नेत्ररोग विशेषज्ञहरुको सहभागिता रहेको अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिए ।

महासचिव शर्मा अनुसार, सम्मेलनमा अमेरिका तथा नेपालमा भएको आँखाको उपचार सेवाको सन्दर्भमा अनुभव आदान –प्रदान गर्ने तथा आँखा उपचार सेवालाई गुणस्तरीय बनाउने विषयमा छलफल हुनेछ । आँखाको रोग सम्बन्धी समस्या, उपचारलगायतको विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सम्मेलन उद्धघाटन गर्दै प्रत्येक जिल्लामा आँखा परिक्षण केन्द्र व्यवस्थापन गर्न सरकार जुटिरहेको बताए । उनले स्वास्थ्य सेवामा कर्मचारी, जनशक्ति थप हुन नसकेको भन्दै स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन आफ्नो ध्यान गएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले अस्पतालले दिएको सेवाको प्रशंसा गरे ।

अस्पतालका अध्यक्ष मधुप्रसाद आचार्यले काभ्रे र आसपासका सेवा दिइरहेका अस्पतालले मोतियाविन्दुमुक्त बनाउन तीनवटै सरकारको सहकार्य खोजेको बताए ।
कार्यक्रममा अस्पतालमा मोतियाविन्दुको निशुल्क शल्यक्रिया गराउने सम्झौता गरेका नमोबुद्ध, बनेपा नगरपालिका, रोशी र बेथानचोक गाउँपालिकालाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस