महादेवस्थान पुगेर एमाले अध्यक्ष ओलीको तर्क, ‘युवाहरु देशमा नभएको यही सरकारको कारण’

नौलो समाचार संवाददाता
२०८० मंसिर २४, आईतबार मा प्रकाशित २१२ पटक पढिएको
महादेवस्थान पुगेर एमाले अध्यक्ष ओलीको तर्क, ‘युवाहरु देशमा नभएको यही सरकारको कारण’

महादेवस्थान \ ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा निस्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले काभ्रेको मण्डनदेउपुर आएर ‘युवाहरु देशमा नभएको यही सरकारको कारण’ भएको तर्क गरेका छन् ।

मण्डनदेउपुर नगरपालिकास्थित कश्यपेश्वर महादेव मन्दिर प्रांगणमा आयोजित जनसभालाई आइतबार साँझ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओलीले यही सरकारको कारण जनताको आर्थिक स्तर झन् खस्किएको दाबी गरे । ‘हाम्रो समृद्धीको यात्राका क्रममा स्वागत गर्ने महिला दिदी बहिनीहरुले युवाहरुलाई देशमा फर्काइदिन निकै मर्मस्पर्शी रुपमा प्रस्तुत गर्नुभयो, युवाहरु देशमा नभएको यही (दाहाल नेतृत्वको सरकार) को कारण हो,’ उनले दाब गरे, ‘हामी सरकारमा हुँदा विदेश जाने दर १८ प्रतिशतले घटेको थियो ।’

उनले आफ्नो पालामा शुरु गरेका विकास निर्माण समेत वर्तमान सरकारले कटौती गरेको भन्दै एमालेले अबसर लिँदा काम गरेर देखाएको बताए ।

यात्राको क्रममा जनताको ‘उल्लासमय, उत्साहजनक, हार्दिक, आत्मीय’ मायाममता पाएको भन्दै नेपाली जनता एमालेको पक्षमा रहेको सहभागिताले देखाएको दाबी गरे ।

यात्राको ११ औं दिनमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाको संयुक्त जनसभा महादेवस्थानमा गरिएको हो ।


प्रतिक्रिया दिनुहोस