प्याब्सन बाग्मतीले गर्यो प्रदेश स्तरीय लोक नृत्य प्रतियोगिता

उत्कृष्टले राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिष्पर्धा गर्ने
नौलो समाचार संवाददाता
२०८० पौष ७, शनिबार मा प्रकाशित १८१ पटक पढिएको
प्याब्सन बाग्मतीले गर्यो प्रदेश स्तरीय लोक नृत्य प्रतियोगिता

काभ्रे – निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाग्मती प्रदेशले आयोजना गरेको अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा एलिन मेमोरियल स्कुल काठमाडौ प्रथम भएको छ ।

प्याब्सन काभ्रेको व्यवस्थापनमा काठमाडौ विश्वविद्यालय (केयू) को हलमा आयोजित प्रतियोगितामा एडभान्स एकेडेमी, धादिङ दोस्रो, समान नतिजा सहित विद्यासागर स्कुल काभ्रे र सक्सेस एकेडेमी धादिङ तेस्रो भए । काभ्रे जिल्लाको गोल्डेन सिद्धार्थ एकेडेमीले सान्त्वना पुरस्कार पायो ।

बागमती प्रदेश स्तरिय छनौट प्रतियोगितामा उत्कृष्ट भएका ती विद्यालयले राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।

पालिका स्तरीय प्रतियोगिताबाट उत्कृष्ट भएकाहरुको जिल्ला स्तरीय प्रतिस्पर्धा गराईएको थियो । सोहि प्रतिस्पर्धामा उत्कृष्ट भएकाहरुबाट प्रदेश स्तरमा प्रतिस्पर्धा गराइएको हो । प्रतियोगितामा प्रदेशभित्रका १४ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

काभ्रेबाट विद्या सागर स्कुल बनेपा र गोल्डेन सिद्धार्थ एकेडेमी श्रीखण्डपुरले सहभागिता जनाएका थिए । दुबै विद्यालय प्रदेश स्तरीय प्रतियोगितामा उत्कृष्ट हुन सफल भएका छन् ।

कार्यक्रममा बाग्मती प्रदेशका सस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले यस्ता प्रतियोगिताले सस्कृती संरक्षणमा सहयोग हुने भन्दै त्यसको लागि सरकार सहयोग गर्न तयार रहेको बताए ।

प्याब्सन बाग्मती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, प्याब्सन केन्द्रिय उपाध्यक्ष थकिनकुमार गुरुङ्ग, उपमहासचिव भिमसेन केसी, केन्द्रिय सदस्य पूर्णकुमार श्रेष्ठ, केयूको विद्यार्थी कल्याण परिषद् निर्देशनालयका निर्देशक राजेन्द्र जोशी, सामुदायिक विस्तार महाशाखाका निर्देशक किशोर खनाल, स्कुल अफ मेडिकल साइन्सका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न श्रेष्ठ, प्याव्सन काभ्रेका अध्यक्ष श्याम भुजेल लगायत सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस