महाभारत गाउँपालिकाको पहिलो त्रैमासिक अवधीको समिक्षा गरियो

नौलो समाचार संवाददाता
२०८० पौष १८, बुधबार मा प्रकाशित ३६९ पटक पढिएको
महाभारत गाउँपालिकाको पहिलो त्रैमासिक अवधीको समिक्षा गरियो

देविटार / महाभारत गाउँपालिकाको प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा महाभारत गाउँपालिकाको आर्थिक बर्ष २०८०/ ८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको हो ।
चालु आर्थिक बर्षको प्रथम ३ महिनाको अवधीमा भएको आर्थिक, भौतिक प्रगतिको समिक्षा गरिएको हो । महाभारत गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरि सि विष्टले प्रस्तुती गरेका थिए ।

बाग्मती प्रदेश सभाका पूर्वमन्त्री रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले भौगोलिक रुपमा दुर्गम भएको कारणले बाग्मती प्रदेश सरकारले बिशेष अनुदान उपलब्ध गराएको बताए । बहुबर्षिय आयोजनाको रुपमा अघि बढेको बिपि राजमार्ग बाट महाभारत हुँदै प्रदेश राजधानी हेटौंडा जोड्ने ‘जनमुक्ति मार्ग’ सो क्षेत्रको बिकासको लागि कोशेढुङ्गा साबित हुने बताए । उनले सिपालिबाट बुढाखानि हुँदै आउने सडक बनाउन जनप्रतिनिधिको ध्यान केन्द्रित हुने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले महाभारत बिस्तारै सुगमता तर्फ बढेको भन्दै ३६५ दिन नै गाडी चल्ने सडक बनाइनुपर्ने बताए । प्रत्येक ३ महिनामा स्थानीय तहको समिक्षा गरि प्रगति प्रतिवेदन प्रदेश र संघ सरकारमा पेश गर्नुपर्ने भएकाले क्षेत्रगत रुपमा त्रैमासिक समिक्षा गरिएको बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले जिविकोपार्जनका साथै आयआर्जनमा जोड दिनुपर्ने बताए । बिगतमा हिड्दै सो भूगोलमा आएको स्मरण गर्दै उनले क्रमशः विकास भइरहेको तर्क गरे ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र स्थानीय सबैको सहयोगले महाभारत गाउँपालिका धेरै मूल्याकंनमा प्रथम हुन सफल भएको बताए । दुर्गम भएका कारण कर्मचारी आउन नमानेकोमा दुख व्यक्त गर्दै उनले त्यसकारण सार्वजनिक सेवा प्रवाह प्रभावित भएको बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भुगोल समस्या नभएको भन्दै त्यसलाई अवसरको रुपमा विकास गर्नु पर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले कर्मचारी र श्रोतको अभावको कारण सोचे जस्तो विकास गर्न नसकिएको भन्दै दुर्गम भेगमा भएका स्थानीय तहलाई बजेट र कार्यक्रम दिँदा व्यवहारिक भएर कार्यान्वयन गर्नुपर्ने बताए । १ बर्षसम्म कैद सजाय हुने मुद्धा स्थानीय न्यायिक समितिबाट टुंगो लगाउने व्यवस्था भएपनि कार्यान्वयनमा हुन नसकेको बताए । निर्माण व्यवसायीलाई मजदुरलाई ज्याला नदिएको घटनामा कार्वाही गर्ने कानून स्थानीय न्यायिक समितिलाई नभएको भन्दै मजदुरलाई न्याय दिने पक्षमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले महाभारत गाउँपालिकामा भइरहेको बिकासले नै यो क्षेत्रको भविष्य निर्धारण गर्ने बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले नागरिकता र सार्वजनिक सेवा प्रबाहका बारेमा महाभारतका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसंग अन्तरकृया गरेको थियो ।


प्रतिक्रिया दिनुहोस