कर्मचारी जोखिम मोल्नै चाहदैनन्, ठूला आयोजनामा हात हाल्नै चाहदैनन् : मुख्यमन्त्री जम्कट्टेल

नौलो समाचार संवाददाता
२०८० पौष २७, शुक्रबार मा प्रकाशित ४०४ पटक पढिएको
कर्मचारी जोखिम मोल्नै चाहदैनन्, ठूला आयोजनामा हात हाल्नै चाहदैनन् :  मुख्यमन्त्री जम्कट्टेल

धुलिखेल \ बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निजामति कर्मचारीले जोखिम मोल्नै नचाहेको तर्क गरेका छन् ।

धुलिखेलमा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन बाग्मती प्रदेश समितिले आयोजना गरेको संगठन सदृढीकरण तथा सार्वजनिक सेवा प्रवाहमा ट्रेड युनियनको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले टुक्रे योजनाको प्रचलन कर्मचारीले नै चलाएको आरोप लगाए ।

‘नयाँ सोच र जाँगर कर्मचारीमा हुनुपर्ने, त्यसो भएन, कर्मचारी जोखिम मोल्न नै चाहदैनन्,’ उनले भने, ‘टुक्रे योजनाको प्रचलन चलाउने कर्मचारी हुन्, ठूला आयोजनामा हात हाल्नै चाहदैनन्, झमेला छ भनेर पन्छिन्छन् ।’

कर्मचारीहरु हिजोको राजावादी, परम्परावादी सोचबाट प्रशिक्षित भएको भन्दै उनले राजनीतिक नेतृत्व र कर्मचारीमा जहिले पनि विश्वासको खाडल रहेको बताए । कर्मचारीलाई विश्वासमा नलिएसम्म काम नहुने भन्दै उनले विश्वासको खाडल नमेटेसम्म देश विकास नहुने बताए ।

अस्थायी, ज्यालादारी, करारका कर्मचारीलाई सामाजिक सुरक्षामा लैजान खोज्दा नमानिएको भन्दै उनले माघ १५ गतेभित्र प्रदेश निजामति कर्मचारी नियमावली ल्याउने तयारी गरेको जानकारी दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, संगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्ट, पूर्वअध्यक्ष हरिबहादुर रावल, केन्द्रीय सचिव एवं बाग्मती प्रदेश इञ्चार्ज हरिलाल विक, केन्द्रीय सदस्य शेरबहादुर कार्की, बाग्मती प्रदेश अध्यक्ष श्रवणकुमार ढुंगाना, उपाध्यक्ष राजु रानालगायतले पार्टीले निजामति कर्मचारीप्रति पार्टीको दृष्टिकोण नफेरिएको, प्रयोग गर्न नजानेको भन्दै संगठन चलायमान नहुँदा असन्तुष्टी तीव्र भएको बताए ।


प्रतिक्रिया दिनुहोस