विभिन्न समितिको प्रतिवेदन पारित गर्दै सकियो बनेपा नगरपालिकाको तेह्रौं अधिवेशन

नौलो समाचार संवाददाता
२०८० पौष २९, आईतबार मा प्रकाशित १४० पटक पढिएको
विभिन्न समितिको प्रतिवेदन पारित गर्दै सकियो बनेपा नगरपालिकाको तेह्रौं अधिवेशन

बनेपा \ बनेपा नगरपालिकाका विभिन्न समितिले पेश गरेका प्रतिवेदन पारित गर्दै नगरपालिकको तेह्रौं अधिवेशन सकिएको छ ।

आइतबार सम्पन्न हिउँदे अधिवेशनले बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालले पेश गरेको न्यायिक समिति, राजस्व परामर्श समितिका साथै बजेट तथा योजना तर्जुमा समितिको प्रतिवेदन पारित गरेको छ ।

अधिवेशनमा संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह समितिका संयोजक शुभलक्ष्मी मानन्धर, आर्थिक विकास समितिका संयोजक रमेश दाहाल, सामाजिक विकास समितिका संयोजक रामबहादुर कुँवर, विधायन समितिका संयोजक बलराम अधिकारी, बन, वातावरणं तथा विपद् व्यवस्थापन समितिका संयोजक कमल प्रसाद घिमिरे, पूर्वाधार विकास समितिका संयोजक श्यामसुन्दर श्रेष्ठ, लेखा समितिका संयोजक हिटलर शाक्यले आ–आफ्ना समितिका प्रतिवेदन पेश गरेका थिए । सबै प्रतिवेदन सर्वसम्मतीले पास भएको हो ।

नगर सभालाई संवोधन गर्दै नगर प्रमुख शान्तीरत्न शाक्यले नगरमा धेरै सकारात्मक काम भएपनि प्रचारप्रसार हुन नसकेको गुनासो गरे । धेरै राम्रो काम भएपनि एक गल्तीलाई औल्याएर चर्चा हुने गरेको दुखेसो पोखे ।

एकिकृत खानेपानीको कामलाई तिव्रता दिएको भन्दै उनले छिट्टै नगरवासीलाई पानी खुवाउने उद्धघोष गरे ।

नगरवासीको स्वास्थ्यलाई ध्यान दिएर स्वास्थ्य परिक्षण, आँखा शिविर, निशुल्क दाँत राख्ने लगायतका कार्यक्रम ल्याएको भन्दै उनले अस्पतालहरुको गुणस्तरमा पनि ध्यान दिएको बताए ।

सहकारी क्षेत्रमा गरेको काम नमूना भएको दाबी गर्दै उनले त्यसको प्रशंसा समेत भएको तर्क गरे ।

४ रोपनी क्षेत्रफलमा बहुउद्धेश्यीय शीत भण्डार स्थापना गर्न लागेको भन्दै पशुपालक कृषकको हितमा समेत काम गर्न लागेको बताए ।

उनले शुसासन लगायतका सूचकांकमा नगरपालिका अगाडी भएको तर्क गर्दै विभिन्न समयमा पुरस्कृत भएको बताए ।


प्रतिक्रिया दिनुहोस