जनताका अपेक्षा, सुझाव र गुनासो बुझ्न नेपाली कांग्रेस काभ्रे समुदायमा जाँदै

नौलो समाचार संवाददाता
२०८० माघ १६, मंगलबार मा प्रकाशित ३४७ पटक पढिएको

जनताका अपेक्षा, सुझाव र गुनासो बुझ्न नेपाली कांग्रेस काभ्रे समुदायमा जाँदै

बनेपा \ नेपाली कांग्रेस काभ्रेले जनताका अपेक्षा, सुझाव र गुनासो बुझ्न समुदायमा कांग्रेस अभियान लिएर सबै टोल बस्तीमा जाने भएको छ ।

केन्द्रीय समितिले तय गरेको अभियानको लागि नेपाली कांग्रेस काभ्रेले सबै वडामा प्रतिनिधी समेत तोकेको छ ।

तोकिएका प्रतिनिधीले जनताको अपेक्षा, सुझाव, गुनासा, विकास र सेवा प्रवाहको अवस्था र समुदायको असल अभ्यासबारे जिल्ला पार्टीलाई प्रतिवेदन दिने नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले जानकारी दिए ।

अभियान अन्तर्गत वडाको पायक पर्ने स्थानमा आवश्यकता अनुसार १ भन्दा वढी स्थानमा वडावासीसंग खुल्ला छलफल राखी तीनवटै तहका सरकारसंगका जनताका अपेक्षा गुनासा र सुझाव सुन्नुका साथै पार्टीका बारेमा जनताका सुझाव लिइनेछ । वडामा रहेका विभिन्न समुहसंग सामुहिक छलफल गरिनेछ । वडास्थित नागरिक समाज, शिक्षक, प्राध्यापकलगायत आमा समुह, युवा क्लव, कृषक समुह, स्वास्थ्य समिति, व्यवसायी समुहसंग छलफल गर्न सकिने नेपाली कांग्रेसले जनाएको छ ।

कुनै एउटा निश्चित विषयसंग सम्बन्धित व्यक्ति, सम्बन्धित सरोकारवाला समुह, प्राज्ञ, सहिद परिवार वा अरु सम्बन्धित व्यक्ति वा समुहसंग छलफल गरिनेछ ।

गाउँपालिका र नगरपालिका, वडास्थित सेवा प्रवाह केन्द्र, स्वास्थ्य चौकी वा आधारभूत स्वास्थ्य सेवा केन्द्र, विद्यालय, विकास निर्माण जायोजना, समुदाय र निजी क्षेत्रको प्रयासमा भएका कामहरु लगायतको अबलोकन गरी सेवा प्रवाहको अबस्था बुझ्ने र समस्या सुन्ने कार्यक्रम हुनेछ ।

शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्यमशिलता लगायतमा नागरिकले गरेका प्रयास र सफलताका कथा खोज्ने सुन्ने अवलोकन र संवाद गर्ने कार्यक्रम छ । वडा कार्यालयमा पुगि सेवा प्रवाहको अवस्था, समस्याका बारेमा बुझ्ने, सेवाग्राहीसंग संवाद गर्ने, जनप्रतिनिधिसंग अन्तरक्रिया छलफल गर्ने कार्यक्रम छ ।

वडा सम्मेलन हुन बाँकी रहेको भए अभियानको अवधिभित्र वडा सम्मेलन पनि सम्पन्न गर्न कांग्रेसले निर्देशन दिएको छ ।

काभ्रेका सबै वडामा हुने अभियानको मंगलबार शुभारम्भ गरियो । केन्द्रीय प्रतिनिधी रहेकी केन्द्रीय सदस्य नानु बास्तोलाको उपस्थितीमा पार्टी कार्यालय बनेपामा आयोजित एक कार्यक्रमका विच शुभारम्भ गरियो ।

कार्यक्रममा केन्द्रीय सदस्य बास्तोलाले तीनवटै तहका जनप्रतिनिधीबारे जनताको अपेक्षा, गुनासो र सुझाव लिनको लागि कांग्रेसले अभियान चलाएको बताइन् ।

जनताका असिमित आवस्यकता सिमित श्रोतका कारण सम्बोधन हुन नसकेको भन्दै जनताको अधिकतम हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताइन् ।

बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री समेत रहेका कांग्रेस जिल्ला सभापति संगठन निर्माणको लागि अभियान महत्वपूर्ण हुने बताए । उनलाई

काभ्रे कांग्रेसको संगठनलाई बलियो बनाउन कृयाशिल हुन सबै नेता कार्यकर्तालाई अनुरोध गरे ।

कार्यक्रममा नेपाली कांग्र्रेस बाग्मती प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरे, प्रदेश कार्यसमिति सदस्य गुमानसिं लामा, सानु श्रेष्ठ, नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, सचिव गुणराज मोक्तान, माधवप्रसाद ढकाल, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा क्षेत्र नं २ (ख) का सभापति रामहरी श्रेष्ठ, क्षेत्र नं १ (ख) का सभापति चन्द्रबहादुर लामा, १ (क) का सभापति राम योञ्जन, क्षेत्र नं २ (क) का सभापति हेमकुमार तामाङ लगायतले जनतामा छाएको निराशा चीर्न भूमिका खेल्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस