नमोबुद्धका मेयरलाई बालबालिकाको प्रश्न, बालविवाह रोक्न के भूमिका खेल्नुहुन्छ ?

आफ्ना स्थानीय सरकार प्रमुखसंग प्रत्यक्ष प्रश्न गर्न पाउँदा बालबालिका खुशी
नौलो समाचार संवाददाता
२०८० माघ २०, शनिबार मा प्रकाशित २५६ पटक पढिएको
नमोबुद्धका मेयरलाई बालबालिकाको प्रश्न, बालविवाह रोक्न के भूमिका खेल्नुहुन्छ ?

भकुण्डेवेशी \ नमोबुद्ध नगपालिकामा शुक्रवार ‘मेयरसँग बालबालिका’ कार्यक्रम सञ्चालन गरिएको थियो । बालमैत्री स्थानीय तह घोषणाको तयारीमा रहेको नमोबुद्ध नगरपालिकाले बालबालिकाले आफ्ना समस्या, गुनासो, जिज्ञासा प्रत्यक्ष रुपमा नगर प्रमुखसँग सोध्न सकुन् भनेर कार्यक्रम आयोजना गरेको  थियो । सोही कार्यक्रममा सहभागी नमोबुद्ध नगरपालिका वडा नं ५ को बाल क्लव सञ्जालका अध्यक्ष गोेकर्ण धितालले प्रश्न गरे, ‘बाल विवाह भइरहेका छन्, यो रोक्न नगर प्रमुखले के भुमिका खेल्नुहुन्छ ?’

धितालको प्रश्नका जवाफ दिँदै नगर प्रमुख लामाले बालविवाह नियन्त्रण गर्नको लागि सरोकारवाला सबैको भूमिका हुने भएकोले सहकार्यमा नियन्त्रण गरिने बताए ।

कार्यक्रममा सहभागी अन्य बालबालिकाहरुले विद्यालयमा घेराबार नभएको, दिवा खाजाको रकम अपर्याप्त भएको, छात्रवृतिको व्यवस्था लगायत बिषयमा प्रश्न गरेका थिए । बालबालिकाहरुले शिक्षक अपर्याप्त भएको, डस्टविन, स्वास्थ्यकर्मी अभाव भएको लगायतका गुनासो गरेका थिए । बाल विवाह नियन्त्रण गर्न नगरपालिकाले के भूमिका खेल्न सक्छ भन्ने प्रश्न बालबालिकाले गरेका थिए ।

प्रश्नहरुको जवाफ दिँदै नगर प्रमुख कुनसाङ लामाले शिक्षा शाखा, विद्यालय, शिक्षक, विद्यार्थीहरुसंग समन्वय गरेर बालबालिकाले राखेका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता जनाए । उनले विद्यार्थी संख्या यकिन गरेर अपर्याप्त भए दिवा खाजाको लागि रकम थप गर्ने बताए । उनले बालविवाह नियन्त्रण गर्नको लागि सरोकारवाला सबैको भूमिका हुने भएकोले सहकार्यमा नियन्त्रण गरिने बताए । शिक्षक–विद्यार्थी अनुपात अनुसार शिक्षक अपुग भए व्यवस्थापन गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रमममा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले निकै महत्वपूर्ण कार्यक्रम आयोजना भएकोले यसबाट बालबालिकाले सिकाइको राम्रो अवसर पाउने तर्क गरे । अहिलेका बालबालिकाले नै भोली नगरपालिकाको नेतृत्व गर्न सक्ने भन्दै सिकाइको जोश हुनुपर्ने बताए ।

नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुुनुवारले नमोबुद्ध नगरपालिकाको आर्थिक बर्ष २०८०÷८१ को लागि स्विकृत बार्षिक नीति तथा कार्यक्रममा समावेश भएअनुसार ‘मेयरसँग बालबालिका’ कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

कार्यक्रममा नगरस्तरीय बाल क्लव सञ्जालका उपाध्यक्ष नमूना प्याकुरेल, सचिव सदिक्षा प्याकुरेल, कालिगंगा प्राथमिक विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद न्यौपाने, श्रीकृष्ण माध्यमिक विद्यालयका बालमैत्री सम्पर्क शिक्षक राजनप्रसाद अधिकारी, जनक मावि बालक्लव सञ्जालका निरोज अधिकारी लगायतले मेयरसँग बालबालिका कार्यक्रम निकै उपयोगी भएको तर्क गरेका थिए ।


प्रतिक्रिया दिनुहोस