अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन बिहिबारदेखि धुलिखेलमा

नौलो समाचार संवाददाता
२०८० फागुन २, बुधबार मा प्रकाशित ११७ पटक पढिएको
अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन बिहिबारदेखि धुलिखेलमा

धुलिखेल / उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन बिहिबारदेखि धुलिखेलमा हुँदैछ ।

काठमाडौं विश्वविद्यालयको आतिथ्यतामा बिहिवारदेखि शनिवारसम्म विश्वविद्यालयको मुख्य परिसरमा हुने कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले उद्धघाटन गर्नेछन् ।

भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाण्डौ विश्वविद्यालयको तत्वावधानमा आयोजित कार्यक्रममा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्ड, लगायत देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरुको उपस्थिति रहनेछ । भारत सहित दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप, अफ्रिका र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका २३७ जनाको सहभागिता निश्चित भएको केयूले जनाएको छ ।

भारतीय विश्वविद्यालय संघका अध्यक्ष तथा विज्ञान एवं प्रौद्योगिकी विश्वविद्यालय मेघालयका उपकुलपति प्रा.डा जी डी शर्माले अध्यक्षीय सम्बोधन गर्ने कार्यक्रमको समाप्ति मन्तव्य भने केयुका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गर्नेछन् । भारतीय विश्वविद्यालय संघका उपाध्यक्ष एवं क्षत्रपति साहुजी महाराज विश्विविद्यालय कानपुरका उपकुलपति विनय कुमार पाठक, अखिल भारतीय तकनीकी शिक्षा परिषदका अध्यक्ष डा अभय जेरे, राष्ट्रिय मूल्यांकन एवं प्रत्यायन परिषद वेङ्गलुरुका निर्देशक प्रा गणेशन कन्नविराम, भारतीय कृषि अनुसन्धान परिषदका निर्देशक डा आर सी अग्रवाल, भारतीय विश्वविद्यालय संघकी महासचिव डा पंकज मित्तल तथा काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले सम्बोधन गर्नेछन् ।

विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा “भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण” मूल–विषय रहेको उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछन् ।

सम्मेलनले नेपालका विद्यालय, कलेज र विश्वविद्यालयका विद्यार्थीहरूलाई करिब १ सय भारतीय विश्वविद्यालयका प्राध्यापकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र ती विश्वविद्यालयहरूले उपलब्ध गराएको अवसरहरू बुझ्ने अवसर प्रदान गर्नेछ । १ सय भारतीय विश्वविद्यालयहरूले लगभग ५ हजार शैक्षिक र व्यावसायिक कार्यक्रमहरू, आविष्कारहरू, र उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्नेछन् ।

दुबै देशका प्राध्यापक र विद्यार्थीहरूले पारस्परिक अनुसन्धान सहयोग, प्राध्यापक र विद्यार्र्थी आदानप्रदान, ट्विनिङ कार्यक्रमहरू, संयुक्त र दोहोरो डिग्री आदिमा अन्तरक्रिया र विचार विमर्श गर्ने अवसर पाउनेछन् र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि आफ्ना आविष्कारहरू र उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्ने अवसर पाउनेछन् । शिखर सम्मेलनले दुवै देशका विश्वविद्यालयबीचको सहकार्य र ज्ञान आदानप्रदानलाई बढावा दिनुका साथै भारत र नेपालबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ ।

यसै सन्दर्भमा बुधबार विश्वविद्यालयको धुलिखेल परिसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विश्वदिद्यालय संघका अध्यक्ष प्राडा जी डी शर्माले भारतभन्दा पहिलो पटक आयोजना गर्न लागिएको यस बृहत् प्राज्ञिक सम्मेलनले सामूहिक उन्नयनको बाटो पहिल्याउने बताए ।

यसैगरी, पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले यस किसिमको बृहत्तर प्राज्ञिक कार्यक्रम आयोजना गर्न पाउनु नेपालको समग्र उच्च शिक्षा क्षेत्रमा कोशेढुङ्गा साबित हुने बताए ।

पत्रकार सम्मेलन लगत्तै लोक साङ्गीत समूह कुटुम्बले साङगीतिक प्रस्तुति दिएको थियो ।

बुधबार नै धुलिखेल परिसरमा कला संकाय अन्तर्गत आर्ट एण्ड डिजाइन कार्यक्रमका विद्यार्थीले निर्माण गरेको काठमाडौं विश्वविद्यालयका सातवटै संकायको विशेषता झल्कने ४२० फिट लम्बाइ तथा २ फिट चौडाइ भएको टेराकोटा मुरल कलाको पनि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायत उच्च शिक्षा अधिकारीबाट अनावरण भयो ।


प्रतिक्रिया दिनुहोस