सकियो काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव

नौलो समाचार संवाददाता
२०८० फागुन ७, सोमबार मा प्रकाशित ३३८ पटक पढिएको
सकियो काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव

बनेपा /  फाल्गुन ४ गतेबाट बनेपामा सुरु काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव २०८० सोमबार सकिएको छ ।

जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिका लगायत काभ्रेका सबै स्थानिय तह, काभ्रे उद्योग वाणिज्य संघ र सबै नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा फाल्गनु ४ देखि बनेपास्थित करुणामार्गमा भएको महोत्सव समापन गरिएको हो ।

महोत्सवमा कृषि स्टल र सास्कृतिक कार्यक्रम गरी १ लाख ५० हजार जनाले अवलोकन गरेको र ६ करोड बराबरको कारोबार भएको मूल आयोजक समिति संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जानकारी दिए ।

काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषकहरुको आर्थिक अवस्थामा सुधार ल्याउने, कृषिका नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गर्नुको साथै कृषि पेशामा लाग्नका लागि नागरिकहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ आयोजना गरिएको थियो ।

महोत्सवमा कृषि प्रविधी, रैथाने बाली, खाद्यान, विउ, ताजा तरकारी, भर्मि कम्पोष्ट, दुग्धजन्य उपज, लप्सी क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपजहरु, बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घिउ, कोल्ड च्याम्बर प्रविधि लगायत सामाग्रीका १ सय ५३ स्टल थिए ।

महोत्सवमा कृषिका आएका प्रविधि र विभिन्न सवालहरुका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरता सम्बन्धी सेमिनार सन्चालन गरिएको थियो । रक्तदान, स्वास्थ्य शिविर संचालन गरिएका छन् ।

हरेक दिन आयोजना भएका सास्कृतिक कार्यक्रममा पनि दर्शक खचाखच थिए । राष्ट्र स्तर र स्थानीय कलाकारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

महोत्सवमा रहेका स्टलमध्ये सर्वोत्कृष्ट भएका २० स्टललाई समापन समारोहमा पुरस्कृत गरियो । महोत्सवकै सन्दर्भमा गरिएको चित्रकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

समापन समारोहमा काठमाडौ विश्वबिद्यालयका उपकुलपति भोला थापा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, उपप्रमुख रिमबहादुर तामाङ, बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा. श्रृजा वाग्ले, कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी लगायतले कृषि क्षेत्रको सुस्ताएको व्यापार प्रवर्द्धनको लागि महोत्सवले अवसर सृजना गरेको तर्क गरे ।


प्रतिक्रिया दिनुहोस