काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव : ६ करोडको कारोबार, १ लाख ५० हजारको सहभागिता

नौलो समाचार संवाददाता
२०८० फागुन ९, बुधबार मा प्रकाशित २७९ पटक पढिएको
काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव : ६ करोडको कारोबार, १ लाख ५० हजारको सहभागिता

बनेपा /   फागुन ४ देखि ७ गतेसम्म बनेपामा सञ्चालन भएको काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सवमा ६ करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।

मूल आयोजक समितिकातर्फबाट संयोजक रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले एक विज्ञप्ति जारी गरेर कृषि स्टल र सास्कृतिक कार्यक्रममा समेत गरेर १ लाख ५० हजारले सहभागिता जनाएको दाबी गरेका छन् ।

संयोजक गौतमका अनुसार, कृषिजन्य उपजहरुको विक्री वितरण २ करोड, यन्त्र, औजार, उपकरणको विक्री तथा अर्डर समेत गरी २ करोड, होटल व्यवसाय तथा रैथाने परिकारतर्फ १ करोड ५० लाख र अन्य सहयोगी क्षेत्र र ग्रैह कृषितर्फ ५० लाख कारोबार भएको छ ।

जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिका लगायत काभ्रेका सबै स्थानिय तह, काभ्रे उद्योग वाणिज्य संघ र सबै नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा फाल्गनु ४ देखि बनेपास्थित करुणामार्गमा भएको महोत्सव आयोजना गरिएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा  बजारीकरण तथा कृषकहरुको आर्थिक अवस्थामा सुधार ल्याउने, कृषिका नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गर्नुको साथै कृषि पेशामा लाग्नका लागि नागरिकहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ आयोजना गरिएको हो ।

महोत्सवमा कृषि प्रविधी, रैथाने बाली, खाद्यान, विउ, ताजा तरकारी, भर्मि कम्पोष्ट, दुग्धजन्य उपज, लप्सी क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपजहरु, बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घिउ, कोल्ड च्याम्बर प्रविधि लगायत सामाग्रीका १ सय ५३ स्टल थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गरेको महोत्सवमा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र मन्त्रीहरु,  प्रतिनिधी सभा सदस्य गोकुलप्रसाद बास्कोटा, प्रदेश सभा सदस्यहरु,सवै स्थानिय तहका प्रमुख तथा पदाधिकारीहरु, संघिय एवं प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरुले सहभागिता जनाए ।

महोत्सवमा काभ्रे जिल्लाका ३ तथा सिन्धुपाल्चोक जिल्लाका ३ जना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक  पुरस्कारबाट सम्मान गरिएको थियो । राष्ट्रिय / अन्तरराष्ट्रिय स्तरका विषय विज्ञहरुबाट विभिन्न ८ वटा विषयमा सेमिनार तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

कृषिमा साहित्य सम्वन्धी कार्यक्रमको आयोजना गरी विभिन्न स्रष्टाहरुबाट कृषि काव्य, रचना गित, मुक्तक, कृषि सम्वन्धि नाटक लगायतका साहित्यिक कार्यक्रममार्फत जनचेतना फैलाउने कार्य गरिएको थियो ।

कृषिको आधारभुमिमा रही विद्यालय स्तरिय प्रतियोगितात्मक चित्रकला प्रदर्शनी गरी उत्कृष्ट विद्यार्थी एवं विद्यालयलाइ सम्मान समेत गरिएको थियो ।

स्थलगत रुपमा माटो परिक्षण सेवा बाली उपचार सेवा बाट कृषकहरुलाइ स्थलगत रुपमा नै प्राविधिक सेवा उपलव्ध गराइएको थियो ।

कृषि उपजको प्रदर्शनी एवं कारोवार सहितको आधारमा कृषि उपज, बाली, वस्तु, प्रविधि सम्वन्धी २० वटा कृषक समुह, सहकारी, कम्पनी, फार्मलाई सम्मान गरिएको थियो ।

रक्तदान, स्वास्थ्य शिविर संचालन गरिएका छन् ।

हरेक दिन आयोजना भएका सास्कृतिक कार्यक्रममा पनि दर्शक खचाखच थिए । राष्ट्र स्तर र स्थानीय कलाकारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

महोत्सव समापनको भोलिपल्ट स्टल तथा सास्कृतिक कार्यक्रम गरिएको स्थान सरसफाइ गरी सहयोग गर्ने सबैलाई आभार प्रकट गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस