उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार हुमागाईलाई

नौलो समाचार संवाददाता
२०८० फागुन १५, मंगलबार मा प्रकाशित २४१ पटक पढिएको
उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार हुमागाईलाई

बनेपा / उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार –२०८० रेडियोकर्मी दिलकुमारी हुमागाई (शोभा) लाई प्रदान गरिएको छ ।

पत्रकारिता क्षेत्रमार्फत डाँडापारी क्षेत्रका चुनौती र सम्भावना उजागर गरेर त्यहाँको विकासमा भुमिका खेले बापत नेपाल प्रेस युनियन काभ्रे शाखाले उनलाई सम्मान गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले उनलाई नगद ५ हजार ५ सय ५५ सहित सम्मानपत्र प्रदान गरेका हुन् ।


२०६६ साल फागुन १५ गते घरबाट ललितपुरको गोटिखेलस्थित क्याम्पस अध्ययन गर्न जाने क्रममा सवारी दुर्घटनामा परी उर्मिला सापकोटाको निधन भएको थियो । उनको स्मृतिमा बाबु गोपालकृष्णले १ लाख राशीको अक्षयकोष स्थापना गरेका थिए । प्राप्त व्याजबाट हरेक बर्ष एक जना पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । पुरस्कारबाट हालसम्म जिल्लामा कृयाशील १२ जना पत्रकार सम्मानित भइसकेका छन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य हुमागाईले सञ्चार क्षेत्रले नैराश्यता हुने खालका समाचार मात्रै सम्प्रेषण नगरेर मुलुकमा भएका सम्भावना पनि उजागर गर्नुपर्ने बताए । उनले समाजमा भएका विकृती विरुद्ध कलम चलाउनुपर्ने भन्दै मुलुकको विकासमा योगदान दिन अनुरोध गरे । उनले केही गैरराजनीतिक सोच भएका तत्वहरुले राजनीति र व्यवस्था माथि प्रहार गरिरहेकाले बहुदलीय प्रजातान्त्रिक राजनीतिक व्यवस्थाको पक्षमा कलम चलाउन पनि अनुरोध गरे ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले शोकलाई शक्तिमा बदलेर छोरी गुमाएको पीडा अरुलाई नपरोस् भन्नको लागि पत्रकारिता पुरस्कार स्थापना गर्ने सापकोटा परिवारलाई आभार प्रकट गरे । उनले खुल्ला प्रतिस्पर्धामार्फत पुरस्कार प्रदान गर्नाले पुरस्कारको गरिमा अझ बढेको बताए । उनले पत्रकारिता पुरस्कार स्थापना गरिसकेकाले तालिम र प्रशिक्षणमा जोड दिन प्रेस युनियन काभ्रेलाई अनुरोध गरे ।

स्व. उर्मिलाका बाबु गोपालकृष्णले डाँडापारी क्षेत्रका समाचार लेख्ने पत्रकारलाई पुरस्कृत गर्ने गरी खुल्ला आवेदन गरेर पुरस्कार निर्णय भएकोमा खुशी लागेको बताउँदै आगामी दिनमा डाँडापारी क्षेत्रका समस्या अझै सञ्चारमाध्यममा आउने अपेक्षा गरे ।

 

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका कार्यवाहक सभापति ठाकुर न्यौपाने, उपसभापति रमेश हुमागाईं, नेपाल प्रेस युनियनका पुर्व उपाध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति एवं रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेशराज पौड्याल, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नारायण सापकोटा, कपिल कोईराला, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, नेपाल प्रेस युनियन बागमति प्रदेशका लेखा शाखा संयोजक शंकर अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईं, सञ्चारिका समूह काभ्रेका अध्यक्ष सुनिता सापकोटा नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्र बहादुर थापा, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, सचिव शुभराज अधिकारी, पुरस्कृत सञ्चारकर्मी दिलकुमारी हुमागाई (शोभा) लगायतले विकासमा पछि परेको डाँडापारी क्षेत्रका चूनौती र सम्भावनाहरु सञ्चारमाध्यमले उजागर गर्नुपर्ने बताए ।

 


प्रतिक्रिया दिनुहोस