कृषकहरुको रचनात्मक आन्दोलन : विक्री नभएपछि निशुल्क दुध वितरण

नौलो समाचार संवाददाता
२०८० फागुन १७, बिहिबार मा प्रकाशित ४०२ पटक पढिएको
कृषकहरुको रचनात्मक आन्दोलन :  विक्री नभएपछि निशुल्क दुध वितरण

बनेपा /  दुध विक्री हुन समस्या भएपछि आन्दोलित कृषकहरुले निशुल्क वितरण गरेका छन् । बनेपा चारदोबाटोमा बिहिबार प्रदर्शन गरेका कृषकहरुले दुध तताएर निशुल्क वितरण गरेका हुन् ।

विगत १ वर्ष देखि दुध विक्रि हुन समस्या भैरहेको र दुग्ध विकास संस्थामा (डि.डि.सि.) तथा निजी डेरीहरुले विगत २ देखि ४ महिनाको दुधको भुक्तानी रकम नदिएपछि कृषकहरु आन्दोलित छन् । केन्द्रिय दुग्ध सहकारी संघ तथा जिल्ला दुग्ध सहकारी संघहरुले दुध विक्रि वापत पाउनुपर्ने भुक्तानी लगायत ११ बँुदे मागसहित २०८० मंसिर २८ गते देखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।

कृषकहरुले २०८० फागुन १४ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाएका थिए । घोषित कार्यक्रम अनुसार नै २०८० फागुन १७ गते जिल्ला दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा अरनिको राजमार्गस्थित बनेपा चारदोवाटोमा चक्काजामसहित निशुल्क दुध वितरण गरिएको जिल्ला दुध सहकारी संघका अध्यक्ष नारायण बडालले जानकारी दिए ।

२०८० फागुन २१ गते देखि माईतिघर मण्डलामा देशभरिका कृषक, दुग्ध उत्पादक सहकारी संघ संस्थाको अगुवाईमा धर्ना तथा विरोध कार्यक्रमहरु माग पुरा नभएसम्म जारी राख्ने संघले जनाएको छ ।

दुध विक्रिबाट प्राप्त हुने भुक्तानी रकम नपाउनाले कृषकहरुलाई पशुआहारा जस्तै घाँस, पराल, भुसा, दाना, चोकर, ब्रान्ड, खरिद गरी खुवाउन नसक्ने अवस्था सृजना भएको साथै बैंक तथा वित्तिय संस्थाहरुबाट पशुपालनमा लिएको कर्जाको साँवा व्याज किस्ता समेत रोकिएको कृषकहरुको गुनासो छ ।

दुग्ध किसानहरुले सरकारी स्मामित्वमा रहेको दुग्ध विकास संस्थान तथा अन्य डेरी उद्योगहरुलाई विक्रि गरेको विगत २ देखि ४ महिना सम्मको भुक्तानी रकम करिव ५० करोड यथासिघ्र भुक्तानी हुनुपर्ने, मिल्क हिलिडे बन्द गरिनुपर्ने, आयतित दुध तथा दुधजन्य पदार्थलाई पूर्ण रुपमा बन्द गरिनुपर्ने, दुध किसानहरुलाई जोगाइराख्न अनुदानका कार्यक्रमहरुलाई निरन्तरता हुनुपर्ने, उत्पादन लागत मुल्य घटाउने कार्यक्रमहरु सबै पालिकामा लागु गरिनुपर्ने कृषकहरुको माग छ ।

विमा कार्यक्रमहरुलाई प्राथमिकतामा राखि क्षतिपूर्ति भुक्तानी सहज बनाउन,  दुध तथा दुग्धजन्य पदार्थ निर्यातको लागि खोरेत, लम्पी लगायतका रोगमुक्त घोषणा गर्न प्रत्येक पालिकामा खोप अभियान चलाउन, निर्यात गर्ने दुग्ध पदार्थमा अनुदानको व्यवस्था गर्न, दुध चिस्यानहरुको विद्युत महसुल ५० प्रतिशत कायम गर्न र लम्पी रोग लागेर क्षती भएका पशुहरुको अभिलम्ब क्षतिपूर्ति रकम उपलब्ध गराउन पनि कृषकहरुले माग गरेका छन् ।

दुध उत्पादनमा अग्रणी जिल्ला काभ्रेमा उत्पादित दैनिक तिन लाख लिटर दुध स्थानिय बजार सहित काठमाडौ, भक्तपुर, ललितपुर जिल्लामा खपत भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस