अन्तर्राष्ट्रिय महिला दिवसमा नमोबुद्धले गर्याे सम्मान

नौलो समाचार संवाददाता
२०८० फागुन २५, शुक्रबार मा प्रकाशित २७० पटक पढिएको
अन्तर्राष्ट्रिय महिला दिवसमा नमोबुद्धले गर्याे सम्मान

भकुण्डेवेशी/  अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले नेतृत्वदायी भूमिकामा रहेका महिलालाई सम्मान गरेको छ ।

शुक्रवार भकुण्डेवेशीमा कार्यक्रम गरेर नगरपालिकाले काभ्रे जिल्लाका ११ सरकारी कार्यालयको नेतृत्व गरिरहेका ११ जना महिला, मानवअधिकारकर्मी र जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

जिल्लाको प्रशासनिक नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का, स्वास्थ्य कार्यालय प्रमुख अनिता खनाल, पशु सेवा कार्यालय प्रमुख डा. श्रृजा वाग्ले, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.वशंवदा कौडिन्न्यायनी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकाल, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख मनिषा चापागाई, स्वास्थ्य बिमा बोर्ड काभ्रेका संयोजक मुना निरौला, पनौती जलविद्युत्त केन्द्र प्रमुख सविना उप्रेती, गुठी संस्थान प्रमुख उर्मिला आचार्य, राष्ट्रिय विमा कम्पनी लिमिटेड प्रमुख चण्डिका सापकोटालाई सम्मान पत्र प्रदान गरिएको छ ।

महिला जागरणको क्षेत्रमा भूमिका खेलेबापत मानवअधिकारकर्मी भोजराज तिमल्सिनालाई सम्मान गरिएको थियो ।

नगर क्षेत्रभित्रै जेष्ठ नागरिक १ सय ३ बर्षीय गेन्द्रप्रसाद कुइकेल र ९९ बर्षीय ठूलीमाया लामालाई नगरपालिकाले सम्मान गरेको छ ।

नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उनीहरुलाई सम्मान गरेका थिए ।

हलमा खचाखच सहभागी महिलाहरुले कलाकार रामकुमार पौडेल, कल्पना सुनुवार, कमल आचार्य, शोभा खनाल, सुशिला खनाल र बाल प्रतिभा कृतिका भूर्तेलको प्रस्तुतीमा मनोरञ्जन लिएका थिए ।

नगर प्रमुख कुनसाङ लामाले नमोबुद्ध नगरपालिकाले महिला लक्षित विभिन्न योजना र कार्यक्रम सञ्चालन गरिरहेको भन्दै महिलाको नाममा उद्योग दर्ता गर्दा लाग्ने दस्तुर मिनाहा गरेको पनि बताए । उनले योजना र बजेटको लागि नेतृत्वलाई घचघच्याउन अनुरोध गर्दै महिला नेतृत्व स्थापित गर्न आफू सकारात्मक भएको प्रतिकृया दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले काभ्रे आएपछि सबैभन्दा धेरै महिला उपस्थित कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै उनले महिला माथि हुने हिंसा कम गर्न सबैेले प्रतिवद्धता व्यक्त गरिन् । महिला, बालबालिका बढी विभेदमा पर्ने गरेको भन्दै उनले आगामी पुस्तालाई विभेद भन्ने के हो भन्ने नै थाहा नहुने गरी काम गर्नुपर्ने बताइन् ।

नगर उपप्रमुख रत्नबहादुर लामाले बिना बर्दीको प्रहरी तयार गर्नको लागि नमोबुद्ध नगरपालिकाले विभिन्न काम गर्ने प्रतिवद्धता जनाए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्काले घटना लूकाए फेरी दोहोरिने तर्क गर्र्दै त्यस्ता समस्याहरु उजागर गर्नुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले नेतृत्वमा रहेका महिलाहरुको सम्मानसहित नगरपालिकाका अन्य गतिविधीले नगरपालिका लैंगिक सबालमा संवेदनशील रहेको देखाएको तर्क गरे ।

कार्यक्रममा वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय, कार्यपालिका सदस्य शुशिला परियार, महिला विकास सहकारी संजालका अध्यक्ष राधिका तिमल्सिना श्रेष्ठ लगायतले महिला अधिकारका सबाललाई व्यवहारमा नै लागू गर्नुपर्ने बताए ।

नगरपालिकालले महिला दिवसमा बर्षेनी कुनै एक रचनात्मक कृयाकलाप सञ्चालन गर्दै आएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।

नगरपालिकाले हालसालै मानवबेचबिखन, लैंगिक हिंसा, बाल बिवाह लगायतका बिषयमा ११ वटै वडामा अभिमुखिकरण समेत सञ्चालन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस