बनेपा / बनेपा नगरपालिकाले ४३ औं स्थापना दिवसमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा बनेपामा जन्मिएर ‘बनेपाको नाम र इज्जत फैलाउन’ योगदान गरेको भन्दै चलचित्र निर्देशक दयाराम दाहाल तथा नगरपालिका स्थापनाका लागि उल्लेखनीय योगदान गरेको भन्दै समाजसेवी ‘बनेपा तारा’ पदक प्रदान गरिएको हो ।
बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं र प्रशासकीय अधिकृत ध्रुवराज नेपाललाई ‘बनेपा विशिष्ट सेवा पदक’ प्रदान गरियो ।
नगरपालिकाले १५ वर्ष सेवा पूरा भएका कर्मचारीलाई ‘बनेपा सेवा पदक’, २५ वर्ष सेवा पूरा भएका कर्मचारीलाई ‘दीर्घसेवा पदक’ र उत्कृष्ट काम गर्ने कर्मचारिलाई नगद पुरस्कार सहित सम्मानित गरिएको थियो । १५ वर्ष सेवा पूरा गर्ने सामुदायिक विद्यालयका शिक्षकलाई ‘सेवा पदक’ र २०७९ चैत्र १४ उप्रान्त निवृत्त हुने सामुदायिक विद्यालयका शिक्षकहरुलाई सम्मान–पत्र प्रदान गरियो । नगर क्षेत्र भित्रका उत्कृष्ट खेलाडी र उत्कृष्ट कृषकलाई सोही अवसरमा सम्मानित गरियो ।
गत बर्षको माध्यमिक शिक्षा परिक्षा (एसइई) मा र कक्षा १२ को परीक्षामा उत्कृष्ट अकं ल्याउने नगर क्षेत्रका विद्यार्थीका साथै उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो ।
संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राई, प्रतिनिधी सभा सदस्य गोकूलप्रसाद बास्कोटा, वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, प्रदेश सभा सदस्य कञ्चन्चन्द्र वादे, रत्न ढकाल, रुकु चौलागाई, जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दिपक गौतम, नगर प्रमुख शान्तीरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा दाहाल लगायतले पदक र सम्मान प्रदान गरे ।





प्रतिक्रिया दिनुहोस