कांग्रेसको नेतृत्वमा राजनीतिक परिवर्तन र धेरै विकास निर्माण भएका छन् : कांग्रेस नेता चन्द्र भण्डारी

नौलो समाचार संवाददाता
२०८० चैत्र १९, सोमबार मा प्रकाशित ८५ पटक पढिएको
कांग्रेसको नेतृत्वमा राजनीतिक परिवर्तन र धेरै विकास निर्माण भएका छन् : कांग्रेस नेता चन्द्र भण्डारी

बनेपा /  नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न राजनीतिक परिवर्तन र धेरै विकास निर्माणका काम भएको बताएका छन् ।

नेपाली कांग्रेस बनेपाको पहिलो नगर सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य भण्डारीले कांग्रेसले आफ्नो गर्विलो इतिहासका साथै जनताका मुद्धा उठाएर जानुपर्ने बताए । ‘हामीले काम गरेपनि प्रचार गरेनौं, कांग्रेसको नेतृत्वमा धेरै काम भएको छ,’ उनले भने, ‘कांग्रेसको गर्विलो राजनीतिक इतिहासका साथै जनताका मुद्धा लिएर हामी जानुपर्छ ।’

संविधान सभाको निर्वाचनभएपछि धेरै प्रधानमन्त्रीको कार्यकालमा संविधान जारी हुन नसकेपछि कांग्रेस सभापति शुशिल कोइरालाको नेतृत्वमा मुलुकले संविधान पाएको भन्दै उनले ३३ प्रतिशत महिला सहभागिताका साथै जनजाति, थारु, मधेशी, मुस्लिमको अधिकार सोही संविधानले सुनिश्चित गरेको बताए ।

गुट त्याएर एकता बनाएर लाने हो भने कांग्रेस बलियो भएको भन्दै उनले पार्टीमा युवा, नयाँ नेतृत्व स्थापित गर्नको लागि आफ्नो सोच परिवर्तन गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद न्यौपाने, सचिव गुणराज मोक्तान, माधवप्रसाद ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, नेता अच्युतप्रसाद पौडेल, प्रचण्डराज प्रधान, महासमिति सदस्य जीवना बादे, नेपाली कांग्रेस काभ्रेको भातृ संस्था समन्वय विभाग प्रमुख समेत रहेका जिल्ला सदस्य राम जोशी, बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य, नेपाल तरुण दलका केन्द्रीय सदस्य सुधीर वैद्य, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, बनेपा नगरपालिका वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, नेपाली कांग्रेस बनेपाका सभापति महेशकुमार कर्माचार्य, उपसभापति हरिशरण घिमिरे, बनेपा वडा नं १४ का सभापति रोशन लामालगायतले पार्टी र जनप्रतिनिधीहरु विच एकता र समन्वय बनाएर जानुपर्ने बताए ।

सम्मेलनमा सचिव योगराज दाहाल, यशकुमार रञ्जितले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पदमसुन्दर श्रेष्ठले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

सम्मेलनकै अवसरमा आयोजित रक्तदानमा ५१ जनाले रक्तदान गरेको नगर सभापति महेशकुमार कर्माचार्यले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस