अहिलेको सत्ता गठबन्धनमा अविश्वास पैदा भइसक्यो, लामो समय टिक्दैन : कांग्रेस प्रमुख सचेतक लेखक

नौलो समाचार संवाददाता
२०८१ बैशाख ८, शनिबार मा प्रकाशित ८८ पटक पढिएको
अहिलेको सत्ता गठबन्धनमा अविश्वास पैदा भइसक्यो, लामो समय टिक्दैन : कांग्रेस प्रमुख सचेतक लेखक

धुलिखेल / प्रतिनिधी सभामा प्रमुख सचेतक रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको सत्ता गठबन्धनमा अविश्वास पैदा भइसकेकोले आयू लामो नभएको बताएका छन् ।

नेपाली कांग्रेस धुलिखेलको पहिलो नगर सम्मेलनलाई सम्बोधन गर्दै लेखकले आफ्नै कारणले वर्तमान सत्ता गठबन्धन टुट्ने बताए । ‘वर्तमान सत्ता गठबन्धनमा अविश्वास पैदा भइसकेको छ, सुदुरपश्चिम र गण्डकीमा यसका संकेत देखिन थालिसकेका छन्,’ उनले भने, ‘पानी परेन र हावाहुरी आएन भने यो गठबन्धनको म्याद ५ महिना हो, यसलाई ढलाउन अरु केही गर्न पर्दैन, आफै ढल्छ ।’

गोदावरीमा शुरु भएको एमालेको राष्ट्रिय परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन ठिक थियो भन्ने प्रतिवेदन पेश गरेको भन्दै कम्युनिष्टहरुलाई संविधान र व्यवस्था प्रति नै विश्वास नभएको आरोप लगाए । संविधान निर्माणको एक दशक पुरा भएको भन्दै उनले संविधानको मर्म अनुसार नै पुनर्विचार वा संशोधन आवश्यक भएको तर्क गरे ।

कांग्रेसमा रहेको इष्र्या, द्वेष, हिनताबोध, अस्वस्थ प्रतिस्पर्धा भएका कारण पार्टी चुनाव हार्नुपर्ने स्थिती रहेको भन्दै उनले पार्टीमा एकता कायम गरेर जानुपर्ने बताए । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछाने आफै संलग्न पाइएकाले प्रहरीबाट नभइ संसदीय छानविन माग गरेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले निर्वाचनको समयमा पार्टीबाटै चक्रव्युहमा पारेर असफलता हासिल भएपनि विश्राम नलिने बताए ।

नेपाली कांग्रेस बाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेले पार्टीमा एकता कायम गरेर जानुपर्ने बताए ।

नेपाली कांग्रेस काभ्रेका सभापति रहेका वाग्मती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाले पार्टीको विधान, विधी, अनुशासन र दायरामा सबै रहनुपर्ने भन्दै संगठित, व्यवस्थित र प्रशिक्षित कांग्रेस अबको आवश्यकता रहेको बताए । उनले बाग्मती प्रदेश सरकारमा रहँदा जिल्लाका १ सय ३५ वटै वडाका लागि बजेट विनियोजन गराएको भन्दै काभ्रेको विकासको लागि आफू निरन्तर लागि पर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, सचिव गुणराज मोक्तान, नेता अच्युतप्रसाद पौडेल, रामकृष्ण हुमागाई, जिल्ला सदस्य मञ्जकुमार कोजू, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा २ (क) का सभापति हेम लामा, नेपाली कांग्रेस धुलिखेलका सभापति विदुरबहादुर बस्नेत, पूर्वसभापति विमलकुमार व्याञ्जु, उपसभापति पुण्यवती घले, सचिव सुरज श्रेष्ठ लगायतले कांग्रेसलाई काभ्रेमा पहिलो शक्तिको रुपमा स्थापित गर्न पार्टीमा एकता कायम गरेर सबै लाग्नुुपर्ने बताए ।

सम्मेलनमा सचिव सम्पूर्ण थापा र कोषाध्यक्ष उदय भुषण जंगमले पेश गरेको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस