उद्यम गर्न विद्यार्थीलाई क्याम्पसले नै उपलव्ध गरायो ४० लाख

नौलो समाचार संवाददाता
२०८१ बैशाख ९, आईतबार मा प्रकाशित २१० पटक पढिएको
उद्यम गर्न विद्यार्थीलाई क्याम्पसले नै उपलव्ध गरायो ४० लाख
बीउ पूंजी ४० लाख मध्ये पहिलो किस्ताबापतको २४ लाख रकम हस्तान्तरण गरिदै ।

बनेपा / पढाई सकेपछि योग्यता र क्षमताका आधारमा पेशा, व्यवसाय गर्ने त सुनिएकै छ । तर अध्ययन गर्दागर्दै उद्यम गर्न विद्यार्थीलाई क्याम्पसले नै ४० लाख बिउ पूँजी उपलव्ध गरायो भन्दा सबैलाई अचम्म लाग्न सक्छ । काभ्रे बहुमुखी क्याम्पसले आइतबार मानविकी स्नातकोत्तर चौथो सेमेस्टर अध्ययन गरेका पुरुषोत्तम नेपाललाई उद्यम गर्न भन्दै बिउ पूँजी उपलव्ध गराएको छ ।

विश्वविद्यालय अनुदान आयोगको उद्यमशीलता सहयोग कार्यक्रमको सहयोगमा क्याम्पसले भान्जा फर्निचर उद्योग संचालन गरेका नेपाललाई ४० लाख रकमको पहिलो किस्तास्वरुप २४ लाख उपलव्ध गराएको हो । निर्व्याजी उक्त रकम ४ बर्षपछि क्याम्पसलाई सावाँ मात्रै फिर्ता गर्नुपर्नेछ ।

रुखको जराबाट विभिन्न सामान बनाउने कार्ययोजना पेश गरेका नेपालले उक्त रकमले आफ्नो व्यवसाय विस्तार गर्न सहयोग पुग्ने बताए । ‘क्याम्पसले नै व्यवसाय गर्न पैसा देला भन्ने मलाई लागेको थिएन, क्याम्पस प्रमुखले गफ दिनुभयो कि भन्ने लागेको थियो’ उनले भने, ‘यस्ता कार्यक्रमले युवाहरु विदेशिने क्रम रोकिन सक्छ, यस्ता कार्यक्रम संचालन गर्न संघ, प्रदेश र स्थानीय तहलाई अनुरोध गर्दछु ।’


क्याम्पस प्रमुख के.जी. वैदारले विद्यार्थिको व्यवसाय योजनाका आधारमा क्याम्पसले नेपाललाई बीउ पूंजी उपलब्ध गराएको बताए । उनले विश्वविद्यालय शिक्षाले रोजगारी खोज्ने भन्दा पनि रोजगारी सृजना गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उनले क्याम्पसले चीनिया भाषा कक्षा संचालन गर्न लागेको जानकारी दिदै त्यसले पनि चीनसंग व्यवसाय, उद्यमशिलता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

हस्तान्तरण कार्यक्रममा बनेपा नगर प्रमुख शान्तीरत्न शाक्यले शिक्षा क्षेत्रको विकासको लागी नगरपालिकाले विभिन्न योजना ल्याएको बताए । उनले शिक्षा, रोजगारीको नाममा युवा विदेश पलायन बढेको भन्दै भिषा दिन नै रोक्नुपर्ने तर्क गरे ।

क्याम्पस संचालक समितीका अध्यक्ष लम्वोदर कायस्थले बीउ पूंजी उपयोग गरेर उद्यम गरि सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस