आमाको स्मृतीमा बालबालिकालाई विद्यालय पोशाक

नौलो समाचार संवाददाता
२०८१ बैशाख १५, शनिबार मा प्रकाशित १८६ पटक पढिएको
आमाको स्मृतीमा बालबालिकालाई विद्यालय पोशाक

बनेपा / आमाको स्मृती स्थापित दिलकुमारी के.सी स्मृति प्रतिष्ठानले काभ्रेको बनेपा नगरपालिका वडा नं ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीका लागि विद्यालय पोशाक (ज्याकेट) वितरण गरेको छ ।

अमेरिकामा समेत दर्ता भएर सामाजिक कार्य गर्दै आएको प्रतिष्ठानले विद्यालयका ३ सय २० विद्यार्थीको लागि ज्याकेट वितरण गरेको प्रतिष्ठानका नेपाल अध्यक्ष उषा कार्कीले जानकारी दिइन् ।

 

शनिवार विद्यालयमा आयोजित कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य, धुलिखेल नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, बनेपा वडा नं ६ का अध्यक्ष सचितानन्द के.सी, प्रतिष्ठानका अध्यक्ष उषा कार्की, उपाध्यक्ष भरत के.सी, कोषाध्यक्ष लक्ष्मण के.सी लगायत परिवारका सदस्यले विद्यार्थीहरुलाई ज्याकेट प्रदान गरेका थिए ।

विद्यालयका शिक्षक सोविता के.सीले प्रतिष्ठान समक्ष विद्यार्थीका समस्याका बारेमा जानकारी गराएपछि प्रतिष्ठानले उक्त विद्यालयमा सहयोग गर्न तयार भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष नवराज केसीले आमाको स्मृती गठन भएको फाउण्डेशनले विभिन्न सामाजिक काम गर्दै आएको बताए । ‘हामीले आमाको सम्झनामा फाउण्डेशन खडा गरेर आफ्नो जन्मभूमी नेपालभर सक्दो सहयोग गर्दै आईरहेका छौं । आगामी दिनमा यस्ता कार्यलाई अझै तिब्रता दिनेछौं,’ फाउण्डेशनका अध्यक्ष नवराज केसीले बताए ।

गरिब, पिछडिएका जाति तथा सिकाइमा समस्या भएका बालबालिकाहरुलाई लक्षित गरी काठमाडौं आसपासका जिल्लाका सामुदायिक विद्यालयमा सहयोग गर्दै आएको प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण के.सीले जानकारी दिए ।

बनेपा नगर प्रमुख शाक्यले नगरभित्रका बालबालिका लाभान्वित हुने गरी सहयोग गरेकोमा आभार प्रकट गरे ।

धुलिखेल नगर प्रमुख व्याञ्जूले संस्थाले प्रतिष्ठानमार्फत भएका कामको प्रशंसा गरे ।

बनेपा नगरपालिका वडा नं ६ का अध्यक्ष सचितानन्द के.सीले सामुदायिक विद्यालय सुधारको लागि पहल गरिरहेको बताए ।


प्रतिक्रिया दिनुहोस