बनेपा / अन्तराष्ट्रिय श्रमिक दिवस (मे दिवस)को अवसरमा बनेपामा प्रभातफेरी तथा प्रशिक्षण गरिएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको आयोजना तथा नेपाल ट्रेड युनियन कांग्रेस बनेपा कार्यसमितिको व्यवस्थापनमा १ सय ३५ औं श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइएको हो ।
मे दिवसमा आयोजित प्रभातफेरीमा नेपाल ट्रेड युनियन कांग्रेस र आवद्ध संघका पदाधिकारीहरु, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामासहितका नेता कार्यकर्ताका साथै विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रभातफेरीपछि आयोजित प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं श्रमिक तथा ट्रेड युनियन विभागका पूर्व प्रमुख शिवप्रसाद हुमागाईले मजदुर, श्रमिकको पक्षमा रहेको पार्टी नेपाली कांग्रेस रहेको बताए । उनले पार्टी मजबुद बनाउन संगठन निर्माणमा जोड दिन ट्रेड युनियनकर्मीलाई अनुरोध गरे ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव कुलबहादुर खड्काले वर्तमान कानुन तथा नीति श्रमिक मैत्री नभएको बताए । सामाजिक सुरक्षा कोष पनि उपयुक्त समुदायका लागि हुन नसकेको भन्दै उनले आफ्ना अधिकार संरक्षणका लागि श्रमिकहरु आफैं सक्रिय हुनुपर्ने तर्क गरे ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकुरप्रसाद न्यौपाने, सचिव माधव ढकाल, युनियनकर्मी सन्तोष चौलागाई, नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका सभापति प्रेमराज शर्मा वाग्ले, बनेपाका सभापति संगम थापा लगायतले श्रमिक तथा ट्रेड युनियन अधिकारबारे चर्चा गरेका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव कुलबहादुर खड्काले ट्रेड युनियन अधिकार, श्रम ऐन, पार्टी र संगठनकाबारेमा प्रशिक्षण दिएका थिए ।





प्रतिक्रिया दिनुहोस