प्रांगारिक तरकारी खेती प्रवर्द्धन गर्न बेथानचोकमा अभियान

नौलो समाचार संवाददाता
२०८१ बैशाख २०, बिहिबार मा प्रकाशित ४५५ पटक पढिएको
प्रांगारिक तरकारी खेती प्रवर्द्धन  गर्न बेथानचोकमा अभियान

बेथानचोक / प्रांगारिक तरकारी खेती प्रवर्द्धन गर्न बेथानचोक गाउँपालिकाले अभियान थालेको छ ।

दुग्ध उत्पादन, तरकारी खेतीको लागि उर्वर मानिने बेथानचोकका उत्पादनलाई प्रांगारिक र व्यवसायिक बनाउन गाउँपालिकाले यहाँ सिप, प्रविधी सिकाउन लागेको हो ।

गाउँपालिकाले मकवानपुरको सामुदायिक महिला विकास केन्द्रसंगको सहकार्यमा ६ वटै वडाबाट ५/५ जना कृषकलाई प्रांगारिक तरकारी उत्पादन तथा व्यवसायिक क्षमता अभिवृद्धिको लागि तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

प्रांगारिक तरकारी खेती प्रवर्द्धनका साथै कृषकको आयआर्जन वृद्धिको लागि गाउँपालिकाले अभियान थालेको बताए । रसायनिक मलको अभाव झेलिरहेको अवस्था रहेको भन्दै उनले प्रांगारिक मल, खेती प्रवद्र्धन भएपछि सो समस्या समाधान हुने तर्क गरे । कृषि, पर्यटनमार्फत गाउँपालिकाको पहिचान बनाउन लागि परेको उनले बताए ।

सामुदायिक महिला विकास केन्द्रका कार्यक्रम संयोजक कोपिला डंगोलका अनुसार, बैशाख २० गतेदेखि २४ गतेसम्म तालिम सञ्चालन हुनेछ । संस्थाले व्यवसायिक तरकारी उत्पादनका साथै बजारिकरण समेतको लागि काम गर्ने उनले जानकारी दिइन् । सामाजिक विकास मन्त्रालयको सहयोगमा संस्थाले नुवाकोट, ललितपुर र चितवनको माडीमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रांगरिक कृषि खेती प्रवर्द्धन गरिरहेको पात्लेखेतस्थित हसेरा फार्मका संचालक गोविन्द शर्माले कृषकहरुलाई तालिम दिनेछन् । ५ दिनसम्म सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण सञ्चालन गरिने शर्माले जानकारी दिए । उनका अनुसार, झोल मल, प्रांगारिक मल बनाउने, बीउ, माटो परिक्षणका साथै शत्रु तथा मित्र जीव व्यवस्थापनको लागि प्रशिक्षण गरिनेछ । माटो जाँच समेत गरिने उनले जानकारी दिए ।

तालिम उद्धघाटन कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले खानपानका कारण प्रत्येक घरमा मधुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता दीर्घरोगको समस्या देखिएको भन्दै प्रांगारिक खेती प्रणाली प्रवर्द्धन  गर्नुपर्ने बताइन् ।

रसायनिक मलले माटो विग्रिएको कारण पहिलो बर्ष केही उत्पादन घट्न सक्ने भन्दै माटोमा सुधार भएपछि प्रांगारिक खेतीले उत्पादन दोब्बर हुने बताइन् । कृषिको लागि उर्वर भूमी भएको कारण बेथानचोकमा प्रांगारिक खेती अभियान सञ्चालन गर्न छनोट गरिएको बताइन् ।

पूर्व सांसद शिवप्रसाद हुमागाईले कृषि नै यहाँका नागरिकको आम्दानीको प्रमुख श्रोत रहेको भन्दै उनले कृषकहरुका उत्पादनलाई बजारिकरणको समस्या हुन सक्ने भन्दै स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने बताए ।

पूर्व उद्योगराज्यमन्त्री समेत रहेका प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले यहाँका कृषि उत्पादनलाई बजारिकरणको समस्या भए बनेपा नगरपालिकासंगको सहकार्यमा व्यवस्थापन गर्न आफूले जनप्रतिनिधीको हिसाबले सहजीकरण गर्ने बताए ।

बाग्मती प्रदेशका पूर्वमन्त्री रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले उर्वर भुमी बेथानचोकमा प्राङ्गारिक खेती तालिमले यहाँका कृषक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

सामुदायिक महिला विकास केन्द्रका सल्लाहकार प्रल्हाद तिमल्सिनाले ग्राणिम भेगका महिला सशक्तिकरणको लागि संस्थाले काम गरिरहेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस बेथानचोकका सभापति प्रेमबहादुर तिमल्सिना, नेकपा एमालेका बेदप्रसाद तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति कैलाश तिमल्सिना लगायतले प्रांगारिक तरकारी खेती अभियानले स्थानीय तहले फाइदा लिने बताए ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले कार्यक्रमको लागि बेथानचोक छनोट गरेकोमा आयोजक संस्थालाई आभार प्रकट गरिन् ।

प्रतिक्रिया दिनुहोस