भव्य उपस्थितीमा सकियो नेपाली कांग्रेस भुम्लु गाउँपालिका सम्मेलन

प्रजातन्त्रमा सधै गठबन्धनको कुरा ठिक होइन : बस्नेत
नौलो समाचार संवाददाता
२०८१ बैशाख २३, आईतबार मा प्रकाशित ८३ पटक पढिएको
भव्य उपस्थितीमा सकियो नेपाली कांग्रेस भुम्लु गाउँपालिका सम्मेलन

सल्लेभुम्लु / नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रजातन्त्रमा सधै गठबन्धनको कुरा ठिक नहुने तर्क गरेका छन् ।

नेपाली कांग्रेस भुम्लु गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धनले प्रजातन्त्रलाई फाइदा नपुगेको बताए । ‘हामीले सधै गठबन्धनको कुरा गर्नुहुँदैन, प्रजातन्त्रमा सधै गठबन्धनको कुरा गर्नहुँदैन,’ पूर्वमन्त्री समेत रहेका बस्नेतले भने, ‘गठबन्धनले फाइदा र घाटा दुबै भएको छ, प्रतिभाशाली नेतृत्वलाई यसले समस्या गरेको छ, यसबाट पार्टीमा भएको नोक्सानीबाट पाठ सिक्नुर्छ ।’ गठबन्धनकै कारण कांग्रेसले जित्ने सिट पनि अरु दललाई दिनुपरेको तर्क उनले गरे ।

कांग्रेस अब गठबन्धन गर्नुपर्छ भन्ने पक्षमा हुन नहुने तर्क गर्दै उनले एक्लै जित्न सक्ने गरी संगठन निर्माणमा लाग्न अनुरोध गरे । कांग्रेसले आफ्नै पार्टीका उम्मेदवारलाई भोट हालेमात्रै कांग्रेस जित्ने तर्क गर्दै उनले पार्टीमा अनुशासन कायम गर्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले आफू पदमा रहेपनि नरहेपनि जनताको सेवामा निरन्तर लागिरहेका छन् । उनले निर्वाचनमा आफू उम्मेदवार बन्दा गरेका प्रतिवद्धता क्रमशः पुरा गर्दै लगेको बताए ।

कांग्रेस जिल्ला सभापति एवं बाग्मती प्रदेश सभा सदस्य तिर्थ लामाले कांग्रेसको पहलमा जिल्लामा धेरै विकास निर्माणका कामहरु भएको बताए । उनले बलियो र सुदृढ कांग्रेस निर्माणको लागि सबै जना संगठन निर्माणमा जोड दिए । उनले जनप्रतिनिधीहरु जनताको सेवामा लाग्नुपर्ने भन्दै कांग्रेसबाट मात्रै त्यस्तो काम भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, नेता अच्युतप्रसाद पौडेल, सचिव माधव ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, नेपाल तरुण दल काभ्रेका सभापति सुजन लामा, नेपाल विद्यार्थी संघ काभ्रेका सभापति अञ्जनराज खतिवडा, नेपाली कांग्रेस काभ्रेका पूर्व जिल्ला सदस्य गोविन्द पराजुली, नेता तोरणबहादुर क्षेत्री, भुम्लु गाउँपालिका वडा नं ५ का अध्यक्ष अञ्चलकुमार लामा, २ का अध्यक्ष सुजन भण्डारी, ९ का अध्यक्ष दलबहादुर तामाङ, नेपाली कांग्रेस भुम्लुका सचिव सदिक्षा तामाङ लगायतले कांग्रेस र संगठनबारे चर्चा गरेका थिए ।

नेपाली कांग्रेस भुम्लु गाउँपालिका सभापति रहेका गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले युवाहरुले विकासको नेतृत्व गर्नुपर्ने भन्दै त्यसकै आधारमा गतिविधी गरिरहेको बताए ।

करिब २ हजार जनाको उपस्थितीमा भएको कार्यक्रमले नेपाली कांग्रेस भुम्लुको संगठनमा उर्जा मिलेको नेता तथा कार्यकर्ता साथै उपस्थितहरुले प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस