सहकारी महासंघले असारमा रोजगार मेला गर्ने

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ ६, आईतबार मा प्रकाशित १७० पटक पढिएको
सहकारी महासंघले असारमा रोजगार मेला गर्ने

काठमाडौं  / दक्ष युवा मानवशक्ति आकर्षण गर्दै ‘सहकारीमार्फत बेरोजगारी न्युनिकरणमा योगदान दिने’ उद्देश्यले राष्ट्रिय सहकारी महासंघले रोजगार मेला आयोजना गर्ने भएको छ ।

आइतबार बसेको महासंघको बोर्ड बैठकले २०८१ असार ७ देखि ९ गतेसम्म महासंघ परिसरभित्र ‘पहिलो सहकारी रोजगार मेला’ आयोजना गर्ने निर्णय गरेको हो ।

अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आइतबार भर्चुअल रुपमा बसेको बैठकले नेपाल सरकार, केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंकलगायत अन्य सहकारी संघ-संस्था तथा निकायहरुसँगको सहयोग र समन्वयमा मेला आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले सहकारी अभियानको मर्यादाक्रमको सूची पनि स्विकृत गरेको छ । अभियानका कार्यक्रमलाई मर्यादित, व्यवस्थित र विादरहित बनाउन मर्यार्दाक्रम सुची तयार भएको महासंघका अध्यक्ष मल्लले बताइन् ।

महासंघले सहकारी क्षेत्रमा आइपर्ने समस्या एवं चुनौतीहरु समाधानमा समन्वय तथा सुझाव लिन विज्ञ समूह गठन गर्ने भएको छ । आइतबारको बैठकले विज्ञ समूह निर्माण तथा संचालन विधि समेत पास गरेको छ । विभिन्न क्षेत्रका विज्ञहरुलाई समेटेर छिट्टै विज्ञ समूह गठन गरिने अध्यक्ष मल्लले बताइन् ।

आइतबारको बोर्ड बैठकले महासंघको आगामी आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्न वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा कार्यक्रम तथा बजेट मस्यौदा उपसमिति गठन गरेको छ । समितिको सदस्यहरुमा महासंघका उपाध्यक्षद्वय खेम बहादुर पाठक र डिवी बस्नेत छन् ।

युवा समन्वय उपसमितिको संयोजकमा संचालक सुमन नेपाल चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस