बैशाख पूर्णिमामा बनेपा र पलाञ्चोकमा जात्रा

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १०, बिहिबार मा प्रकाशित १०३ पटक पढिएको
बैशाख पूर्णिमामा बनेपा र पलाञ्चोकमा जात्रा
तस्वीर : देवराज केसी

बनेपा  /  प्रत्येक बर्ष बैशाख पुर्णिमाको दिन बनेपा र पलाञ्चोक भगवतीमा हुने जात्रा यो बर्ष शुरु भएको छ ।

बनेपामा ‘चण्डेश्वरी जात्रा’ र पलाञ्चोकमा ‘पलाञ्चोक जात्रा’ शुरु भएको हो ।

बनेपामा पहिलो दिन (पुर्णिमाको दिन) बिहान बनेपाका स्थानीयबासीले धिमे, नेखिऊ, छुस्याहा, पञ्चे बाजा लगायतका वाजागाजासहित चिराग जुलुश गरेपछि जात्रा सुरु भएको मानिन्छ । सोही दिन तीनधारामा परम्परा अनुसार भेडा बली दिएपछि रित्तो रथलाई हजारौ भक्तजनको सहभागितामा चण्डेश्वरी मन्दिर पुर्याइन्छ । बनेपालीको आराध्यदेव चण्डेश्वरीको प्रतिमा लिन एक सय जनाले बोकेर ठूलो रथ लाने गरिएको छ ।

पगौडा शैलीमा बनाइएको पांग्रा नभएको रथलाई एक सय भन्दा बढी युवाले बोकेर चण्डेश्वरी पुर्याउने गर्छन् । तीनधाराबाट चण्डेश्वरी रथ लाँदा बाटो र घरघरबाट रथलाई पुजाआजा गरिन्छ । विहानै देखि वाजागाजासहित रथ यात्रा गर्ने क्रममा हजारौ भक्तजन सहभागी हुन्छन् ।

तस्वीर : देवराज केसी

चण्डेश्वरीको मुर्ति राखेर वाजागाजासहित बनेपास्थित तीनधारा ल्याइएपछि पुजाआजा गर्ने गर्ने चलन छ । पुरानो बजारमा ल्याएपछि १४ बोका बली दिने गरिएको छ । १४ बोकामध्ये एउटा बोका द्धारे र अर्को बोका जोशीलाई दिइने गरिन्छ भने बाकी १२ बोकालाई कलनदान दिने गरिन्छ । जात्रामा मासु फालेपछि सिंग, कान, आँखा, वंगारा, जिब्रो भेटाउने भाग्यमानी हुने विश्वास छ । स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसंग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रलाई विशेष जात्राको रुपमा लिइने गरिएको छ ।

इतिहास अनुसार, सत्ययुगमा चण्डासुर दैत्यले भगवान महादेवको तपस्या गरी शक्ति पाएर देवीदेवतालाई वध गर्न थालेपछि चण्डेश्वरी कुमारी भगवतीको रुपमा प्रकट भई चण्डासुर दैत्यलाई मारेको खुशीयालीमा चण्डेश्वरी जात्रा हुदै आएको हो । पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याईने तरबार (खड्ग) जात्रामा नेपाल सरकारको तर्फबाट समेत पूजा हुने भएकोले यसको महत्व अझ छ ।

चण्डेश्वरी जात्रा बनेपाली नेवार समुदायको लागि विशेष महत्वको छ । काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर देखिका मानिस जात्रामा सहभागी हुन बनेपा आएका थिए । व्यापार, शिक्षा, रोजगारीका लागि अन्यत्र पुगेका बनेपाली पनि यो समयमा अनिवार्य घर आउने गरेका छन् ।

यता, जात्राको अवसरमा पलाञ्चोकमा पनि बृहत सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।


प्रतिक्रिया दिनुहोस