महाभारतको भैरव माविमा प्रधानाध्यापक विवाद : तत्कालीन प्रधानाध्यापक दुलालले ९ महिनासम्म तालाचाबी नै बुझाएनन्

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार मा प्रकाशित १७५ पटक पढिएको
महाभारतको भैरव माविमा प्रधानाध्यापक विवाद : तत्कालीन प्रधानाध्यापक दुलालले ९ महिनासम्म तालाचाबी नै बुझाएनन्

गोकूले / ‘प्रधानाध्यापक’ विवादका कारण महाभारत गाउँपालिका वडा नं १ मा रहेको भैरव माविको प्रशासनिक तथा शैक्षणिक कृयाकलाप प्रभावित भएको छ । आफूलाई जानकारी नै नदिइ पदबाट हटाएको भन्दै तत्कालिन प्रधानाध्यापक खुबनाथ दुलालले विद्यालयको तालाचावी नै नबुझाएपछि प्रशासनिक र शैक्षणिक कृयाकलाप प्रभावित भएको हो । विद्यालयको लेखा परिक्षण नहुँदा कर्मचारीको तलव निकासा समेत भएको छैन ।

पुस्तकालय, कम्प्युटर ल्याव, बिषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरु २०८० भदौ ११ गते प्रधानाध्यापकलाइ माग पेश गर्दै तालावन्दी समेत गरेका थिए । गाउँपालिका, शिक्षा शाखामा समेत उजुरी भएपछि दुलाललाई हटाँउदै २०८० भदौ २४ गते विद्यालय व्यवस्थापन समितिको बैठकले शिक्षक पूर्णदास श्रेष्ठलाई प्रधानाध्यापक नियुक्ति गरेका थियो । तर, आफूलाई हटाएको जानकारी नआएको भन्दै दुलालले ९ महिनासम्म पनि तालाचाबी बुझाएका छैनन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ङेमासाङ योञ्जन (प्रदिप) ले पटक पटक अनुरोध गर्दा पनि बुझबुझारथ गर्न आलटाल भएको बताए । ‘पटक पटक अनुरोध गर्दा पनि मान्नुभएको छैन, गाउँपालिका र शिक्षा शाखामा पनि अनुरोध गरे, तर सुनुवाई भएको छैन,’ उनले भने ।

तत्कालिन प्रधानाध्यापक दुलालले भने आफूलाई हटाएको जानकारी नभएकोले तालाचाबी नबुझाएको दाबी गरे । ‘मलाई हटाएको औपचारिक जानकारी अझैसम्म नभएकोले बुझबुझारथ नगरेको हुँ, मैले तालाचाबी नबुझाएपनि केही काम रोकिएको छैन, खाता चलाउनुभएकै छ,’ उनले भने, ‘ एक पटक अभिभावक भेला बोलाउने कुरा थियो, खै किन हो गर्नुभएको छैन, ५१ सालदेखि त्यो विद्यालयमा कार्यरत छु, भेला म पनि आफ्ना कुरा राख्थे ।’

विद्यालयले पत्र नै लेखेर विवादबारे जानकारी गराएपनि गाउँपालिका मौन छ । शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक जन्मराज शर्माले व्यवस्थापन समितिलाई नै अधिकार भएको भन्दै समितिलाई नै टुंग्याउन भनिएको भन्दै पन्छिए ।

२ पटक पत्र दिँदा पनि दुलालले बरबुझारथ गर्न नमानेपछि २०८० साल माघ १० गते गाउँपालिका शिक्षा शाखा र न्यायिक समितिमा सहयोग गर्न निवेदन दिएको थियो ।

विद्यालय व्यवस्थापन समितिले दुलाललाई हटाएर श्रेष्ठलाई नियुक्त गरिसकेको छ तर दुलाल आफू हटेको स्विकार गर्न तयार छैनन् ।


प्रतिक्रिया दिनुहोस