काठमाडौं विश्वविद्यालयमा ६ दिनदेखि नेविसंघको रिले अनसन

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २४, बिहिबार मा प्रकाशित २१९ पटक पढिएको
काठमाडौं विश्वविद्यालयमा ६ दिनदेखि नेविसंघको रिले अनसन

धुलिखेल /  काठमाडौं विश्वविद्याल (केयू) मा भएका ‘अनियमित र अमर्यादित’ कार्यका विरुद्ध ध्यानाकर्षण गराउँदा पनि सुधार नभएको भन्दै नेपाल विद्यार्थी संघ काठमाडौं विश्वविद्यालय समितिले गरेको रिले अनसन ६ दिनदेखि जारी छ ।

विश्वविद्यालय कार्यसमितिका सचिव सुघोष ढुङ्गेल, सचिव प्रशान्त कडेल, नेविसंघ काभ्रे जिल्ला उपाध्यक्ष सौरव थापा, नेविसंघ काठमाण्डौ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका अध्यक्ष नोएल भट्टराई लगायतका विद्यार्थी नेताहरुको अगुवाइमा रिले अनसन थालिएको हो ।

चौथो वर्षको विद्यार्थीको हकमा अन्तिम परिक्षाफल प्रशासनको १ हप्ता भित्र विद्यार्थीको ट्रान्सक्रिप्ट माईग्रेसन लगायत प्रमाणपत्र लिन र दिक्षान्त समारोहमा भाग लिन मिल्ने व्यवस्था गर्नुपर्ने, पुनर्याेग र पुनः परीक्षण पछि प्राप्ताङक प्रकाशन १ हप्ता भित्र हुनु पर्ने, परिक्षा नियन्त्रण कार्यलयले परिक्षा सकिएको अन्तिम मिति देखी ३० दिन भित्र परिक्षाफल प्रकाशन गर्नुपर्ने, मौका परिक्षाको हकमा परिक्षाफल प्रकाशन अन्तिम मिति देखी ३० दिन भित्र मौका परिक्षाफल समेत व्यवस्थापन गर्नुपर्ने, एमबिबिएस अन्तिम ब्याच र एमबिबिएस तेस्रो व्याचको प्रश्नपत्रको गोपनियता भंग गर्ने उपर सत्य तथ्य खोजी कारबाही गनुपर्ने, परिक्षाको संचालन तथा मर्यादा कायम गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने लगायतका माग राखेर नेविसंघका विद्यार्थीले अनसन थालेका थिए ।

विद्यार्थी कल्याण निर्देशनालयको चुनाबको मिति तोकिनुपर्ने, विद्यार्थी कल्याण निर्देशनालयमा परिपत्र गरेको निवेदन प्रति कारवाही गर्नु पर्ने माग समेत रहेको नेविसंघ विश्वविद्यालय समितिका सभापति गणेश थापाले जानकारी दिए ।

लामो समयसम्मको छलफल र सहमतिलाइ वेवास्ता गर्दै समस्या समाधानको प्रक्रियालाई प्राथमिकतामा नराखी मनोमानी ढङ्गले विश्वविद्यालय चलेको भन्दै अनसन थालिएको नेविसंघले जनाएको छ ।

रिले अनसनकै क्रममा नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, काभ्रे जिल्ला अध्यक्ष अञ्जनराज खतिवडा लगायतका नेता कार्यकर्ता सहभागिता जनाउन केयू पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस