बनेपा / नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सत्तामा जान कांग्रेस हतारिन नहुने तर्क गरेका छन् ।
नेपाली कांग्रेस काभ्रेको कार्यलयमा भएको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन विच बेमेल भएर राजनीतिक परिस्थिती र जनताले कांग्रेसको आवस्यकता महशुस गर्ने बताए ।
उनले केही बिषयमा संविधान संशोधनको आवस्यकता रहेको भन्दै एमालेसंग सरकार सञ्चालनमा नभइ संविधान संशोधनमा सहकार्य गर्न सकिने बताए ।
गिरिबन्धु चिया बगानको जग्गा प्रकरणमा भएको अनियमितताका बारेमा कांग्रेसले सदनमा शसक्त आवाज उठाउनुपर्ने र उठाएको तर्क गरे ।
उनले २०४६ सालपछि पदमा भएका सबैको सम्पति छानबिन हुनुपर्ने माग कांग्रेसको भएको भन्दै आफ्नै नेताको बारेमा प्रश्न गर्ने आँट कांग्रेसबाहेक अरु कुनै दलमा नभएको तर्क गरे । सहकारीको रकम अपचलनमा आरोपित व्यक्ति सरकारको गृहमन्त्री रहेको भन्दै उनले नयाँ दलको काम अरु दललाई गाली गरेर आफू राम्रो देखिनु मात्रै भएको बताए ।
पार्टीको आन्तरिक व्यवस्था नबदलेसम्म पार्टीमा गुटबन्दी अन्त्य नहुने भन्दै उनले कांग्रेसको संरचनागत सुधार गर्नुपर्ने तर्क गरे । पार्टीमा एकै प्रकारको सदस्य, प्रत्यक्ष निर्वाचन र सभापतिय प्रणाली उपयुक्त हुने उनको बुझाइ छ ।
चालु खर्च धान्न नसक्ने देशको राजश्वले यो राजनीतिक संरचना सञ्चालन गर्न कठिन भएको भन्दै संघीयतालाई छरितो बनाउनुपर्ने बताए ।
भेटघाटमा सहभागी कांग्रेसका नेता कार्यकर्ताले आवद्यिक निर्वाचन नहुँदा कांग्रेसका भातृ संस्था मौलाएको, पार्टीमा युवाको हस्तक्षेपकारी भुमिका नभएको, गुटबन्दी मौलाएको, युवा पलायन रोक्न भुमिका खेल्न अनुरोध गरेका थिए ।





प्रतिक्रिया दिनुहोस