बनेपा / नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यताको सूचीमा आपत्ती जनाउँदै नेपाल प्रेस युनियन काभ्रेले सोमबार नेपाल पत्रकार महासंघ काभ्रेको कार्यालयमा धर्ना दिएको छ ।
पत्रकार महासंघका शाखा, प्रदेश समितिले विधान, विधि, प्रक्रिया अनुसार सिफारिस गरेका सदस्यता कायम गर्न, क्रियाशिल पत्रकारलाई सदस्यता प्रदान गर्न, नेपाल पत्रकार महासंघका कुनै वैध संरचनाले सिफारिस नगरिएका गैर पत्रकारको सदस्यता खारेज गर्न, नेपाल पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गर्न, तत्काल सदस्यता विवाद टुंगाएर नेपाल पत्रकार महासंघको निर्वाचन हुने वातावरण सुनिश्चित गर्न माग गर्दै नेपाल प्रेस युनियन काभ्रेले धर्ना दिएको हो ।
केन्द्रीय सचिवालय बैठकले आन्दोलनलाई थप शसक्त बनाउन नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि महासंघका सबै समिति, शाखाहरुमा असार १७ गते विहान ११ देखि १ बजे धर्ना दिने कार्यक्रम तय गरेको थियो ।

आन्दोलनमा रहेको युनियनले महासंघका केन्द्र, प्रदेश लगायतका सबै समिति र जिल्ला शाखाहरुमा तालाबन्दी गरेको छ ।
पत्रकार महासंघले सार्वजनिक गरेको नामावली नसच्याइ, सदस्यताको न्यायपूर्ण टुंगो नलगाई साधारणसभा, अधिवेशन सहितका कुनै पनि प्रक्रिया अगाडी नबढाउन चेतावनी दिदै प्रेस युनियन काभ्रेले असार ८ गतेदेखि नेपाल पत्रकार महासंघ काभ्रे शाखामा तालाबन्दी गरेको छ ।
विधान बमोजिम जिल्ला शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको मतदाता नामावाली आफूलाई मान्य नभएको भन्दै युनियन काभ्रेले तालाबन्दी गरेको हो ।





प्रतिक्रिया दिनुहोस