बनेपा / शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण अरनिको राजमार्ग र वि.पि राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक (डिएसपि) राजकुमार श्रेष्ठका अनुसार, अरनिको राजमार्गको धुलिखेल-खावा सडक खण्ड अन्तर्गत तिरतिरे धारा नजिक पहिरोसहित रूख ढलेर सडक अवरुद्ध भएकोमा प्रहरीले स्थानीयको सहयोगमा बाटो एकतर्फी खुलाइएको छ ।
यता, अविरल बर्षापछिको बाढी र पहिरोको कारण वी.पी राजमार्गका विभिन्न स्थानमा अवरोध भएकोमा स्थानीयको सहयोगमा सेना, प्रहरीले हटाउन प्रयास गरिरहेको छ ।
रोशी गाउँपालिकाको वडा नम्बर ८ नार्के, चारसय बेसी, वडा नम्बर ९ मंगलटारको मंगल जनविजय माध्यामिक विद्यालय अगाडि, वडा नम्बर ११ कालढुङगा र वडा नम्बर १२ माम्तीमा खहरेखोलाबाट लेदो आएर सडक अवरुद्ध भएको छ । रोशी गाउँपालिका वडा नम्बर ७, लासकोटस्थित अवरुद्ध सडक स्काभेटर र जेसिभीको सहायताले एकतर्फी खुलाइएको छ ।
बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिका जोडिएका खोपासी-चलाल-ढुङ्गखर्क- च्याम्राङबेशि-सुकुमफेदी-फापरवारि सडकको ग्वाभञ्ज्याङ खण्ड र पार्थली खण्ड अवरुद्ध भएको छ । खुलाउन प्रयास जारी छ ।
अन्य ग्रामिण सडक समेत अवरोध भएकोले सावधानी अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस