बनेपा नगरपालिकाको सार्वजनिक सुुनुवाइ : पुलबजार डुबानदेखि फोहोरमैला व्यवस्थापनबारे गुनासो

नौलो समाचार संवाददाता
२०८१ श्रावण १८, शुक्रबार मा प्रकाशित २३७ पटक पढिएको
बनेपा नगरपालिकाको सार्वजनिक सुुनुवाइ : पुलबजार डुबानदेखि फोहोरमैला व्यवस्थापनबारे गुनासो

बनेपा / बनेपा नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ मा सम्पादित आयोजना तथा सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई गरेको छ ।

सार्वजनिक सुनुवाईमा सहभागी नगरवासी, सरोकारवाला र लक्षित वर्गले पुलबजार क्षेत्रको डुबान, फोहोरमैला व्यवस्थापन, एकिकृत खानेपानीदेखि हाट बजार, विद्यालय र शिक्षक व्यवस्थापन लगायतको बिषयमा गुनासो गर्दै नगरपालिकाको योजनाबारे जिज्ञासा राखेका थिए ।

बनेपा ७ का गुणनिधी (जि.एन) सापकोटाले पुण्यमाता कोरिडोर विस्तार हुन नसक्दा पुलबजार क्षेत्र डुबानमा परेको भन्दै खोला सफाइले मात्रै समस्या समाधान नहुने तर्क गरे ।

सहकारीकर्मी बालकृष्ण दाहाल र बुद्धरत्न मानन्धरले सहकारी क्षेत्र व्यवस्थापनको लागि नगरपालिकाले गरेको प्रयासको सह्राना गर्दै पर्याप्त भने नभएको तर्कका साथै वर्तमान सहकारी समस्या समाधान गर्न विज्ञ टोली गठन गर्न सुझाव दिए ।

जेष्ठ नागरिक मञ्च बनेपाका उपाध्यक्ष चन्दा कार्कीले सबै वडामा जेष्ठ नागरिक आश्रयस्थल बनाउन शुरु गरिएपनि प्रत्येक बर्ष एक वटा मात्रै निर्माण हुँदा सवै वडामा बन्न १४ बर्ष लाग्ने भन्दै त्यसको लागि बजेट र संख्या थप्न अनुरोध गरिन् ।

बनेपा वडा नं १२ का रामविक्रम खड्काले बनेपामा डुबानको समस्या कहिले समाधान भन्दै साँगादेखि पुलबजारसम्म तिव्र भएको सडक निर्माण पुलबजारदेखि तरकारी बजारसम्म विस्तार गर्दा के समस्या भयो भन्दै प्रश्न गरे ।

बनेपा ७ की गौरी सापकोटा, बनेपा ८ का रामप्रसाद दुलाल, प्रल्हाद वहादुर बस्नेत, रामशरण घिमिरे लगायतले कोरिडोर व्यवस्थापन गरे मात्रै डुवानको समाधान हुने भन्दै ढल निकासको उचित व्यवस्थापन हुनुपर्ने बताए ।

सहभागीले सामुदायिक कुकुर व्यवस्थापन गर्न, पैदलयात्रीको लागि जेव्राक्रस बनाउन, वडाहरुको सिमा विवाद समाधान गर्न, चाडपर्वको लागि बजेट व्यवस्थापन गर्न, फोहोरमैला व्यवस्थापनको दिगोपनाको लागि जग्गा व्यवस्थापन गर्न, युवा लक्षित कार्यक्रम सञ्चालन गर्न, महिला उद्यमशीलताको लागि कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका थिए ।

बनेपा नगरपालिका वडा नं ९ बाल क्लव सञ्जालकी रोजी मगरले बनेपा छिट्टै बालमैत्री नगर घोषणा होस् भन्ने कामना गर्दै त्यसका लागि वालमैत्री सार्वजनिक शौचालय, पुस्तकालय, फुटपाथ, जेव्रा क्रस, जेहेन्दार विद्यार्थी छात्रवृति लगायतको व्यवस्था गर्न अनुरोध गरिन् ।

शिक्षा सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद दाहालले नगरपालिकाले लायकु राजमञ्चमा प्रत्येक शुक्रवार सञ्चालन गर्ने हाटबजारका कारण विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै शनिवार सञ्चालन गर्न अनुरोध गरे ।

श्वेत वराह माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर शाहले विद्यालय मर्ज भन्दा पनि गुणस्तर सुधार गर्नुपर्ने बताए ।

जवाफमा नगर प्रमुख शान्तीरत्न शाक्यले जनताले विश्वास गरेर दिएको मतको अवमूल्यन हुने कुनै काम नगरेको बताए । राजमार्गमा भएको पुलको उचाइ बढाए मात्रै डुवानको समस्या समाधान हुने विषयमा नै सत्यता भएको भन्दै उनले आफू सत्यताको पक्षमा रहेका बताए । राजमार्ग विस्तारको क्रममा सडक सतह बढ्नेबारे पछि मात्रै जानकारी भएको भन्दै उनले सुधारको लागि भौतिक पूर्वाधार मन्त्री, सचिव र सम्बद्ध अधिकारीहरुसंग कुरा भएको भन्दै सम्वोधन हुने विश्वास व्यक्त गरे ।

उपप्रमुख विमला सापकोटा दाहालले सार्वजनिक सुनुवाइमा आएका सुझाव ग्रहण गर्दै सक्ने सम्म सुधार गर्ने बताए । नगरपालिकाको आन्तरिक आय कमजोर भएको कारण सबै योजनामा पर्याप्त बजेट विनियोजन गर्न नसकिएको भन्दै जग्गाा प्राप्ती हुन नकस्दा शित भण्डारण (कोल्ड स्टोर) को लागि विनियोजित रकम खर्च गर्न नसकिएको बताए । नगर प्रमुख र उपप्रमुखलाई १ करोड ५० लाखको दरले रकम भाग लगाएको विषयको प्रतिवाद गर्दै उनले संकलित मागहरुमा कार्यपालिकाबाट निर्णय गरेर नै विनियोजन गर्ने गरिएको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले सुशासन र पारदर्शिताको लागि सार्वजनिक सुनुवाई गरिएको भन्दै आगामी दिनमा त्रैमासिक रुपमा सार्वजनिक सुनुवाई गर्दा थप पारदर्शी र व्यवस्थित बनाउने प्रतिवद्धता गरे । सहकारी क्षेत्र सुधारको लागि धेरै प्रयास गरिएको भन्दै उनले त्यसको नतिजा देखिन बाँकी रहेको बताए । पुण्यमाता कोरिडोरको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेको भन्दै उनले मुद्धाको अन्तिम किनारा नलागेकाले काम अघि बढाउन नसकिएको बताए । उनले डुवान लगायतका समस्या समाधानको लागि जग्गा व्यवस्थापन लगायत विकल्पमा समाधान उन्मुख छलफल भइरहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका सदस्य चण्डिका मिजार, नेपाली कांग्रेस बनेपाका सचिव योगराज दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी बनेपाका उपसभापति सोफिया शाक्य, राप्रपा बनेपाका नेता सिताराम दाहाल, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य, जेष्ठ नागरिक मञ्च बनेपाका अध्यक्ष कृष्णप्रसाद दाहाल लगायतले सुशासन र पारदर्शितामा जोड दिँदै अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस