प्रदेशका स्वास्थ्यमन्त्री थापा मगरले दिए शिर मेमोरियल अस्पताल दर्ता र नविकरणको ‘आश्वासन’

नौलो समाचार संवाददाता
२०८१ कार्तिक २१, बुधबार मा प्रकाशित ३३८ पटक पढिएको
प्रदेशका स्वास्थ्यमन्त्री थापा मगरले दिए शिर मेमोरियल अस्पताल दर्ता र नविकरणको ‘आश्वासन’

बनेपा / बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले बनेपास्थित शिर मेमोरियल अस्पताल दर्ता र नविकरण हुने आश्वासन दिएका छन् ।

अस्पतालमा ‘अनौपचारिक’ छलफल गर्न प्रदेश उपसभामुख अप्सरा चापागाईसहित आएका मन्त्री थापा मगरले प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ समेत प्रदेश सभाबाट पारित भइसकेकाले नियमावली र मापदण्ड छिट्टै ल्याएर शिर मेमोरियल अस्पताल प्रदेश अन्तर्गत दर्ता र नविकरण हुनेमा ‘ढुक्क’ हुन अनुरोध गरे ।

गुठी ऐन अन्तर्गत दर्ता भएका अस्पताललाई दर्ता गर्न नहुने केही प्रदेश सभा सदस्यको तर्क रहेको भन्दै उनले आफ्नै पहलमा स्वास्थ्य सेवा ऐनमा गुठी शव्द ‘घुसाएको’ भन्दै जतिसक्दो चाडो अस्पतालको समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘प्रदेश सभामा पनि गुठी अन्तर्गतका सामुदायिक अस्प्ताल दर्ता गर्नुपर्छ भन्ने लविङमा लाग्योै, गुठीलाई समेट्नु हुदैन भन्ने केही माननीयहरु हुनुभयो, तर हामीले शिर मेमोरियल अस्पतालकै समस्यालाई लिएर ऐनमा गुठी शव्द समावेश गरेका छौं,’ मन्त्री थापा मगरले भने, ‘मैले पटक पटक घचघच्याएको कारण स्वास्थ्य विधेयक यति छिटो संशोधन पारित भएको हो, नविकरण नहुँदा अस्पतालहरुले समस्या खेपेका छन्, सम्भवतः मंसिरको दोस्रो साता नियमावली र मापदण्ड पास भएपछि तपाईहरुको अस्पताल दर्ता र नविकरण हुन्छ ।’

प्रदेश उपसभामुख अप्सरा चापागाईले कानूनी समस्या आउन नदिन ऐनमा नै गुठी शव्द समावेश गरेको बताइन् । ‘कानूनी मापदण्ड पुरा गरेको कारण अस्पताल दर्ता र नविकरण गर्न यसलाई सिस्टमबाटै जाउँ भने। गुठी शव्द ऐनमा राख्यौं,’ आफ्नो भूमिका व्याख्या गर्दै उपसभामुखले भनिन् ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले मन्त्री थापा मगर ‘आफैं समस्या खोज्दै समाधान गर्ने’ स्वभावको भएको भन्दै हेटौंडा पुग्दा अस्पताल दर्ता र नविकरण भएको खवर आउने विश्वास व्यक्त गरे ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले कानूनी जटिलताका कारण अस्पतालमा सिटी स्क्यान, मेमोग्राम लगायतका सामान र सेवा विस्तार गर्न नसकिएको बताए ।

अस्पतालका प्रमुख कार्यकारी सल्लाहकार सुन्दर थापाले कानूनी जटिलताका कारण सेवा प्रवाहमा भइरहेका समस्याबारे जानकारी गराएका थिए ।

दर्ता, नविकरण र स्वामित्वको विषयलाई लिएर कानूनी रुपमा आलोचित हुँदै आएको अस्पताल १९५० वाट सेवा शुरु गरेपनि २०७७ असोज ४ गते शिर मेमोरियल मेडिकल एण्ड एजुकेशनल ट्रष्ट नामक सार्वजनिक गुठीका रुपमा मालपोत कार्यालय काठमाडौंमा दर्ता भएको छ । २०७७ असोज ६ गते संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ताको लागि निवेदन दिएको १ सय ५० बेडको अस्पताललाई मन्त्रालयले २५ देखि २ सय वेडका अस्पताल प्रदेश अन्तर्गत भन्दै वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पत्र लेखिदिएको थियो । २०७७ कार्तिक ७ नै गते प्रदेश गएको अस्पताल दर्ता र नविकरणको लागि भन्दै अनुगमन भएपछि अझै स्विकृत भएको छैन ।

मन्त्री थापा मगर र उपसभामुख चापाागाईले अस्पतालका विभिन्न विभाग निरिक्षण गरेका थिए भने मन्त्री थापा मगरले नाक, कान, घँटी रोग विशेषज्ञ डा. सञ्जय मानन्धरसँग सेवा समेत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस