रोशी जलाधार क्षेत्र ‘जोगाउन’ सरोकारवालाको ‘चासो’ र ‘चिन्ता’

नौलो समाचार संवाददाता
२०८१ पौष १३, शनिबार मा प्रकाशित २३३ पटक पढिएको
रोशी जलाधार क्षेत्र ‘जोगाउन’ सरोकारवालाको ‘चासो’ र ‘चिन्ता’

पनौती/  गत असोज १० देखि १२ सम्म परेको अविरल बर्षापछिको बाढी र पहिरोमा बढी क्षति बेहोरेको रोशी जलाधार क्षेत्र ‘जोगाउन’ सरोकारवालाको ‘चासो’ र ‘चिन्ता’ व्यक्त गरेका छन् ।

पनौती नगरपालिकाका आयोजना र काभ्रे सेवा समाजको समन्वयमा भएको कार्यक्रममा उपस्थित जनप्रतिनिधी, विज्ञ र सरोकारवालाहरुले सो जलाधार क्षेत्रका ‘खानी’ र ‘पानी’ दुवै महत्वपूर्ण र आवश्यक भएको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने धारणा राखेका हुन् ।

बाग्मती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले रोशी जलाधार क्षेत्रमा पर्ने स्थानीय तहका साथै जिल्ला समन्वय समितिको सहभागितामा समन्वय समिति बनाएर प्रदेशको नीति, योजना निर्माणमा हस्तक्षेपकारी भूमिका बनाउनुपर्ने बताए । बाढी र पहिरोले वागमती प्रदेशमा १० अर्व बराबरको क्षति भएको अनुमान गर्दै उनले विपद न्यूनिकरण योजनाको लागि विपदपछिको आवश्यकता पहिचान गरिरहेको र अन्तिम प्रतिवेदन आउने क्रममा रहेको बताए ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले खानी र पानी दुवै आवश्यक रहेको भन्दै उनले जोखिमयुक्त रहेका स्थानमा विकल्प दिनुपर्ने बताए ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बनेपा, पनौती, धुलिखेल नगरपालिका समेटिएको एकिकृत खानेपानी, विभिन्न सिंचाई आयोजना, पनौती जलविद्युत आयोजनाको प्रमुख श्रोत रोशी जलाधार क्षेत्र नै भएको भन्दै उनले ३ सय ३१ मिलिलिटरसम्मको अधिक वर्षा, अव्यवस्थित वस्तीहरु, सामुदायिक वनहरुले लामो समयसम्म कार्ययोजना विना रुख राख्नु, खानीको उत्खनन् र अनावश्यक सामग्री खोला किनारामा थुपार्नु , दिगो विकासका सूचकलाइ वेवास्ता गर्दै गरिएको विकास र २०७२ सालको भूकम्पको प्रभावका कारण धेरै क्षति भएको बताए । उनले तटीय क्षेत्रको सुरक्षा, सामाजिक, आर्थिक रुपान्तरणको दायित्व पुरा गर्नको लागि भूमिको सन्तुलित उपयोग हुनुपर्नेमा जोड दिए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले फुल्चोकी देखि नेपालथोकसम्म ७ वटा स्थानीय तह जोड्ने जलाधार क्षेत्रको संरक्षणका साथै व्यवस्थित रुपमा खानी सञ्चालन गर्न सबैको सहभागितामा व्यवस्थित योजना बनाउनुपर्ने बताए ।

चारैतिरबाट परेको पानी वा हिउँ कुनै एक निश्चित ठाउँ भएर तल्लो पानीको श्रोत जस्तैः नदी, झरना, ताल वा सिमसार क्षेत्रमा बग्ने गर्दछ, त्यसैलाई जलाधार क्षेत्र भनिन्छ । रोशी खोलाको उद्गम पनौती नगरपालिका वडा नं १२, रोशी हो जहाँ पनौती जलविद्युत केन्द्र देखि काभ्रे उपत्यका एकिकृत खानेपानीको मुहान यसै क्षेत्रमा पर्दछ । काभ्रेदेखि सिन्धुली जिल्लाका विभिन्न फाँट यसैले सिंचाइ गरिएको छ भने खानेपानीको श्रोत पनि रोशी खोला हो । काभ्रेका पनौती, बनेपा, धुलिखेल, नमोबुद्ध, रोशी, तेमाल र सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका यस जलाधार क्षेत्रमा पर्छन् । पूण्यमाता खोला र यसका सहायक खोल्साहरू, फेदीखोला, बिहाबर खोला, खारखोला, काला खोला, सलन्दु खोला, सुर्हो खोला, लड्के खोला, सिमसिम खोला, खहरे खोला, भण्डारे खोला, दाप्चे खोला, पोटा खोला, नार्के खोला, भ्याकुरे खोला, सिशापानी खोला गडगडे खोला, भैरमदेव खोलाका साथै अन्य साना खोला, खोल्छीहरू रोशी खोलाको श्रोत हो ।

नेपाल इञ्जिनियर्स एशोसिएशनका कोषाध्यक्ष सुमन थापाले जलाधार क्षेत्रमा अत्याधिक बर्षा भएका कारण पनि तटीय क्षेत्रमा बढी क्षति भएको बताए । सो समयमा खोपासीमा २४ घण्टामा ३सय ३१ मिलिलिटर र फुल्चोकीमा ३ सय २३ मिलिलिटर पानी परेको रेकर्ड भएको थियो, जबकी १ सय ४० मिलिलिटर भन्दा बढी बर्षा भए, त्यसलाई जोखिमको संकेत मानिन्छ ।

स्वशासन अध्ययन प्रतिष्ठान पूर्व अध्यक्ष रहेका स्थानीय तह मामिलाका जानकार पुरुषोतम नेपालका अनुसार, करिब ६ सय वर्गकिलोमीटर जलाधार क्षेत्र भएको रोशी खोला यस क्षेत्रको जनजीवनको मूल आधारको रूपमा रहेको छ । काठमाण्डू उपत्यकाको करिब ३० प्रतिशत र काभ्रे उपत्यकाका प्रायः सबै निजी तथा सार्वजनिक निर्माण कार्यको लागि निर्माण सामाग्री जस्तै ढुंगा, गिट्टी, रोडा, माटो र क्रशर डस्टको आपूर्ति रोशी जलाधार क्षेत्रबाट हुने गरेको छ । करिब २ लाख ५० हजार जनसंख्याको खानेपानीको मूलस्रोत यहाँबाट नै पुरा हुन्छ । करिब ६० हजार रोपनी जमीनमा सिंचाई हुने गरेको छ । करिब ३ लाख पशुपन्छीको पानीको आवश्यकता पुरा गर्ने गरेको छ । खोपासीमा रहेको पनौति जलविद्युत आयोजना यसैको पानीले चलेको छ । अन्य ३ वटा आयोजना समेतको पूर्वसम्भाव्यता अध्ययनले करिब १० मेगावाट थप विद्युत उत्पादन हुनसक्ने देखाएको छ ।

नेपालले रोशी जलाधार क्षेत्रमा रहेका सबै सातैवटा स्थानीय तह, बागमति प्रदेश सरकार र संघीय सरकारले समन्वय र सहकार्य गरी रोशी जलाधार क्षेत्रको दिगो व्यवस्थापन र स्रोतको बहुउपयोग योजना निर्माण गर्नुपर्ने बताए । प्रदेश योजना आयोग र जिल्ला समन्वय समितिले समन्वयको प्रवन्ध मिलाउने, सबै तह सदस्य रहेको समन्वय समिति बनाउने, लागत सहभागितामा परियोजना विकास गर्ने,भू–उपयोग योजना बनाउनुका साथै जलाधारको संरक्षण, बाढी, पहिरो व्यवस्थापनका साथै निर्माण सामाग्री उत्खनन् तथा खानी क्षेत्र व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

वातावरण संरक्षणका साथै भौतिक पूर्वाधारको स्तरीकरण, प्राविधिक सहयोग गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदारको खोजीका साथै योजना कार्यान्वयन गर्न दाताको सहयोग परिचालन गर्नुपर्ने नेपालले बताए ।

कार्यक्रममा रोशी खोला जलाधार संरक्षण तथा विपद् न्यूनीकरणका उपायका विषयमा इन्जिनियर सुमन थापा, रमेश गुरागाई, गोपीकृष्ण बस्याल र पुरुषोत्तम नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस