काठमाडौ विश्वविद्यालयमा उपकुलपति छनोटको कार्यविधि पुनःविचार गर्न निर्देशन

मेडिकलतर्फकालाई बाटो खुल्यो
नौलो समाचार संवाददाता
२०८१ माघ ४, शुक्रबार मा प्रकाशित ७३ पटक पढिएको
काठमाडौ विश्वविद्यालयमा उपकुलपति छनोटको कार्यविधि पुनःविचार गर्न निर्देशन

धुलिखेल / काठमाडौ विश्वविद्यालयको ९८ औं सभा बैठकले विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि मेडिकल संकायमा कार्यरत वरिष्ठ शिक्षकहरुले समेत दरखास्त हाल्न पाउने गरी कार्यविधि पुनःविचार गर्न खोज तथा सिफारिस समितिलाई निर्देशन दिएको छ ।

उपकुलपतिको आवेदनका लागि आव्हान भएको सूचनामा आफूहरुलाई आवेदन गर्नबाट वञ्चित गराइएको भनी मेडिकल संकायका शिक्षकहरुले कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष निवेदन दिएको विषयमा छलफलपछि बैठकले कार्यविधि पुनःविचार गर्न निर्देशन दिएको हो ।

दुई/दुई कार्यकाल उपकुलपति भइसकेका व्यक्तिसमेत आवेदन दिन नपाउने तथा हरेक कार्यकालका लागि कार्यविधि संशोधन भइरहने स्थितिप्रति बैठकमा ध्यानाकर्षण गराइएको हो ।

पूर्व उपकुलपति प्रा डा सुरेशराज शर्माको संयोजकत्वमा रहेको सिफारिस समितिले प्रकाशन गरेको सूचनाका आधारमा प्राप्त १७ मध्ये १६ दरखास्त स्वीकृत भइसकेको थियो ।

उपकुलपतिको लागि बनाएको मापदण्डमा असन्तुष्टी जनाउँदै मेडिकल संकायतर्फकाले सर्वोच्च अदालतमा रिट हाले पनि दावी नपुग्ने भन्दै खारेज भएको थियो । पूर्व उपकुलपति डा. सुरेशराज शर्मा नेतृत्वको उपकुलपति छनोट समितिले बनाएको कार्यविधि नै नमिल्ने भन्दै खारेजीको माग राखेर चिकित्सकहरु सर्वोच्च अदालत गएका थिए । मेडिकलका एमडी, एमएस र एमडीएसले पनि आवेदन दिन पाउनु पर्ने माग चिकित्सकहरुको छ ।

केयूका उपकुलपति भोला थापाको चार बर्षको कार्यकाल माघ ६ गतेबाट सकिँदैछ ।


प्रतिक्रिया दिनुहोस