शंखुपाटिचौर / धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटिचौरमा भव्य रुपमा सोनाम ल्होछार मनाइएको छ । डुक ल्हो (गरुड वर्ष) लाई बिदाई गर्दै डुल ल्हो (सा पुख्रि) सर्प बर्षलाई लाई स्वागत गरिएको हो ।
मन्जुश्री बर्ष २८६१ डुल (सा पुख्री) ल्होको अवसरमा पहिलो पटक शंखुपाटीचौरमा शान्ति बुद्ध छोर्बा समाजले बृहत् सास्कृतिक कार्यक्रमसहित ल्होछार कार्यक्रम आयोजना गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वरिष्ठ कलाकार हरिवंश आचार्य, धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगमले कार्यक्रम उद्धघाटन गरेका थिए ।
कार्यकारी निर्देशक घिसिङले स्थानीय चाडपर्व, कला, संस्कार, संस्कृतिले देशको पहिचान बोक्ने भएकाले यसको संरक्षण गर्नुपर्ने बताए । वरिष्ठ कलाकार आचार्यले चाडपर्व, कला संस्कृति नै देशको सम्पति भएकाले यसलाई जोगाउनु हामी सबैको दायित्व भएको बताए । उप–प्रमुख जंगमले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त सबै समुदायका नेपालीबीच सद्भाव, भाइचारा, सहिष्णुता, मेलमिलाप र बन्धुत्वको भावना विकास गर्न यस्ता पर्व सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा चर्चित गायक रोज मोक्तान, गायक कोशिस थोकर, रन्जित लामा, रोजन थोकर, बुद्ध लामा, गायिका बसन्ती लामा, अस्मिता रुम्बा, मोडल / निर्देशक पाल्देन लामा, मोडल अजय रन्जित, मोडल/नायिका कृष्मा बाईवा लामा, निर्मला मोक्तान, मोडल अनु लामाको प्रस्तुति र ममता घिसिङको नृत्य प्रस्तुतीमा दर्शक/श्रोता रमाएका थिए ।
बनेपास्थित उग्रेश्वर मन्दिर परिसर नजिकैको खाली जग्गामा सोनाम ल्होछार मेला/ महोत्सव २०८१ चलिरहेको छ भने जिल्लाका अन्य स्थानमा पनि ल्होछारको अवसरमा कार्यक्रम आयोजना गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस