बनेपा/ काभ्रेपलाञ्चोक जिल्लाको समृद्धीमा काठमाडौं विश्वविद्यालय (केयू)को भूमिका बारे अन्तरक्रिया गरिएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको आयोजनामा काभ्रेका जनप्रतिनिधी, राजनीतिक दल, नागरिक समाज, प्राध्यापक, शिक्षक, विद्यार्थी, पेशाकर्मी लगायतका सरोकारवालाको सहभागितामा केयूको भूमिकाबारे विभिन्न आयाममा छलफल गरिएको हो । अध्यक्ष विनोदकुमार न्यौपानेले जिल्लाका सार्वजनिक चासोका विषय उठान गर्ने ’फोरम’ सिर्जना गर्न आवश्यकता महसुस गरेर काभ्रेको समृद्धि र काठमाडौं विश्वविद्यालयको भूमिकालाई जोडेर सरोकारवालाको उपस्थितिमा कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा सार्वजनिक चासोका अन्य बिषयबस्तुमा पनि बहस चलाउने बताए ।
प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले विश्वविद्यालयमा विद्यार्थीको आकर्षण खस्कदो रहेको तर्क गर्दै शैक्षिक उन्नयनको केन्द्र बन्दै जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उनले उत्पादित जनशक्ति स्वदेशमा टिक्न नसकेको कारण खोजिनुपर्ने बताए ।
प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादे आर्थिक अवश्था कमजोर भएकाले पनि अध्ययन गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमले समन्वय र अनुगमन आवश्यकता देखिएको भन्दै आफ्नो भूमिका निर्वाह गर्ने बताए ।
धुलिखेल नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले काठमाडौं विश्वविद्यालयको ‘रि–इञ्जिनियरिङ’ आवश्यक भएको भन्दै त्यहाँका ऐन, नियमावली परिवर्तन गर्नुपर्ने बताए । स्थापनामा समुदायको योगदान र भूमिका रहेको भन्दै त्यसको अपनत्व लिनुपर्ने बताए ।
नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले विश्वविद्यालयले गर्न सक्ने खोज र अनुसन्धानबाट काभ्रेले लाभ लिनुपर्ने बताए ।
नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकालले विश्वविद्यालयलाई स्वतन्त्र छाड्दै त्यसलाई विशुद्ध प्राज्ञिक थलो बनाउन लाग्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक भोला अर्यालले केयूमा काभ्रेली सरोकारवालाको पहुँच नै पुग्न नसकेको बताए ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले विश्वविद्यालय स्थापनामा बनेपाले पनि योगदान गरेको भन्दै जिल्ला लाभान्वित अवस्था बन्नुपर्ने बताए ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले केयूले जिल्लाको समृद्धीको लागि मानवीय पुँजी निर्माण गर्न सक्नुपर्ने भन्दै उत्पादित जनशक्ति नेपालमा नै काम गर्ने वातावरण बन्नुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका सभापति प्रविण ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेका अध्यक्ष सहदेव भण्डारीले शिक्षा क्षेत्रमा राजनीति प्रवेश गराउनु नहुने तर्क गरे ।
कार्यक्रममा काभ्रे सेवा समाजका पुर्व अध्यक्ष केशव थापाले ‘काभ्रेपलाञ्चोकको समृद्धीमा काठमाडौं विश्वविद्यालयको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि टिप्पणी गर्दै विद्यार्थी संघसंगठन, शिक्षासेवी र अन्य सरोकारवालाहरुले जिल्लाको समृद्धीको केयूका मानवीय पुँजी परिचालन गर्नुपर्ने, पर्यटनसँग जोडेर अभियान सञ्चालन गर्नुपर्ने, बार्षिक क्यालेण्डर लागू गरेर शैक्षिक गुणस्तर निर्माण गर्नुपर्ने तर्क गरेका थिए ।
प्रतिक्रिया दिनुहोस