काभ्रेका १४ क्याम्पसमा स्ववियु निर्वाचनको लागि ‘संगठन’ दर्ता

नौलो समाचार संवाददाता
२०८१ फागुन १९, सोमबार मा प्रकाशित ३४२ पटक पढिएको
काभ्रेका १४ क्याम्पसमा स्ववियु निर्वाचनको लागि ‘संगठन’ दर्ता
बनेपास्थित चैतन्य बहुमुखी क्याम्पसमा संगठन दर्ता गराउँदै नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकका सचिव सन्तोष दाहाल लगायतका प्रतिनिधीहरु

बनेपा / त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका काभ्रेपलाञ्चोक जिल्लाका १४ वटा क्याम्पसमा चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनको लागि विद्यार्थी संगठनहरुले सोमबार ‘संगठन’ दर्ता गरेका छन् ।

प्रमुख राजनीतिक दल निकट विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्वियु क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनले कार्यतालिका अनुरुप सोमबार संगठन दर्ता गरेका हुन् ।

स्ववियु निर्वाचनको लागि बनेपाको चैतन्य बहुमुखी क्याम्पस, धुलिखेलको सन्जिवनी र धुलिखेल क्याम्पस, पनौतीको तेजगंगा, ईन्द्रेश्वर क्याम्पस र कुशादेवि क्याम्पस ,नमोबुद्धको जनक, दाप्चा कृष्ण बहुमुखी क्याम्पस, रोशीको मंगल जनविजय क्याम्पस, पाँचखालको सर्वमङ्गला बहुमुखी क्याम्पस, भुम्लुको प्रकाश बहुमुखी क्याम्पस, चौरीदेउरालीको प्रभा बहुमुखी क्याम्पस र बेथाचोकको पार्वती बहुमुखी क्याम्पसमा संगठन दर्ता भएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार, फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने र २५ गते मतदाता सूची उपर दाबी विरोध, सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

फागुन २६ उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ का लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । फागुन २८ गते दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने र सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय फागुन २९ गते तोकिएको छ । २९ गते नै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । चैत ५ गते विहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुनेछ ।

संगठन दर्ता गरेपनि नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकका सभापति अञ्जनराज खतिवडाले उत्साहपूर्ण तयारीमा लागेको प्रतिकृया दिए ।

 

प्रतिक्रिया दिनुहोस