बनेपा / त्रिभुवन विश्वविद्यालयका आंगिक एवं सम्बन्धन प्राप्त कलेजमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाका अधिकाशं क्याम्पसमा नेतृत्व सर्वसम्मत भएको छ ।
कार्यतालिका अनुसार मंगलबार भएको मनोनयन दर्तामा आवश्यक संख्यामा मात्रै मनोयन परेको हो । नेतृत्व सर्वसम्मत गर्ने गरी भन्दै नेपाल विद्यार्थी सघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्वियु क्रान्तिकारी), अनेरास्ववियू र अखिल समाजवादी विच काभ्रेमा सहमति बनेको थियो ।
नेपाल विद्यार्थी संघले नेतृत्व गर्ने सहमति भएको चैतन्य क्याम्पसमा राजु लामा, इन्द्रेश्वरमा सुदिप कुँवर, मंगलजनविजय क्याम्पसमा युगबहादुर दमै, प्रकाशमा नविन रिजाल र पार्वती बहुमुखी क्याम्पसमा प्रकाश श्रेष्ठको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत भएको नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकका सभापति अञ्जनराज खतिवडाले जानकारी दिए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) ले नेतृत्व गर्ने सहमति भएको कुशादेवी क्याम्पसमा मनिका हुमागाई, तेजगंगामा सुजन सापकोटा,जनकमा सञ्जीव गिरी, सर्वमंगलामा श्रीकृष्ण भट्टराई, धुलिखेल क्याम्पसमा स्वागत चापागाईको अध्यक्षतामा कार्यसमिति निर्विरोध भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्वियु क्रान्तिकारी) ले नेतृत्व गर्ने सहमति भएको दाप्चा कृष्ण क्याम्पसमा सविन श्रेष्ठ, प्रभामा सुजन चौलागाई र सञ्वीवनी क्याम्पसमा दिपक रानामगरको अध्यक्षतामा कार्यसमिति निर्विरोध भएको छ ।
काभ्रे बहुमुखी क्याम्पसमा भने मित्रवत प्रतिस्पर्धा गर्ने सहमति बनेको थियो । नेपाल विद्यार्थी संघले अध्यक्षमा रोहिन पराजुलीलाई उम्मेदवार बनाएको छ भने अनेरास्वियूको तर्फबाट मिलन गौतम अध्यक्षको उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस