नारायणटार / गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण सिर्जित मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति आंकलन ( डिटेल ड्यामेज एसेसमेन्ट ) थालिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिग्रस्त जिल्लाहरूमध्ये काभ्रेको रोशी गाउँपालिका वडा नं २ नारायणटारबाट आंकलन सुरु गरेको हो ।
रोशी गाउँपालिका वडा नम्बर २ का ३ जनालाई क्षति आंकलन निस्सा उपलब्ध गराउँदै गृहमन्त्री रमेश लेखकले विस्तृत क्षति आंकलन सुरुवात गरे । ज्यादा प्रभावित जिल्ला र स्थानीय तह भएकाले रोशीबाट सुरुवात गरिएको मन्त्री लेखकले बताए । क्षति आंकलनपछि पुननिर्माण सहज हुने भन्दै छिटो आंकलन सकाएर पुनर्निर्माण थाल्न प्रभावित र स्थानीय तहलाई आग्रह गरे। पुननिर्माणका लागि सबै तह र क्षेत्रको सहयोग आवश्यक हुने भन्दै उनले सरकारले पनि नीति,कार्यविधिमा रहेका केही अस्पष्टता हटाएर अघि बढेको बताए।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सदस्य सूर्यमान दोङले पुल, तटबन्धनलगायतका पूर्वाधार निर्माण गरेर मात्रै पुनर्निर्माण पूर्ण हुने बताए ।
पूर्व सांसद शिवप्रसाद हुमागाईंले पुनर्स्थापना र पुननिर्माण त्यति सहज नभएको भन्दै सिँचाई लगायतका पूर्वाधार निर्माणमा प्रदेश र संघ सरकारले सघाउनुपर्ने तर्क गरे ।
बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नारायणटार लगायत काभ्रेका विभिन्न खेतीयोग्य फाँटहरू बगरमा परिणत भएको भन्दै दुई वर्षभित्र पुरानै अवस्थामा फर्काउन योजना र कार्यक्रम ल्याउनुपर्ने बताए। निजी आवास सँगै सडक, पुल लगायतका पूर्वाधार पुननिर्माण गरिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले काभ्रेको लागि हालै ७ करोड ३५ लाख ७५ हजार रकम विनियोजन भएको जानकारी दिँदै विस्तृत क्षति आंकलनपछि स्थायी आवास निर्माण का लागि भुक्तानी गर्न सकिने बताए ।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले कम्तीमा चार कोठाको घर निर्माण गर्न पुग्ने रकम सरकारले दिनुपर्ने तर्क गर्दै त्यसका लागि स्थानीय तहले योगदान गर्न तयार रहेको बताए।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले विस्तृत क्षति आंकलनपछि पुननिर्माणको ढोका खोल्ने तर्क गरे।
स्थानीय समाजसेवी गणेश लामाले स्थानीय तह का साथै वडा वडामा क्षति आकलन गरेर त्यसलाई विपदग्रस्त घोषणा गरी अघि बढ्नुपर्ने बताए।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदबाट प्रभावित ७१ स्थानीय तहमध्ये रोशी गाउँपालिकाबाट क्षति आंकलन सुरु गरेर पुनर्निर्माणको काम थालेकोमा संघीय सरकार र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई आभार प्रकट गरे। रोशी गाउँपालिकामा १० शैयाको अस्पताल, औद्योगिक ग्रामको प्रशासकीय भवन, डम्फु जीवन्त संग्रहालय लगायत नगर गौरवका आयोजना, पाँचवटा झुलुंगे पुल बगाएको तथ्य प्रस्तुत गर्दै तत्काल पुननिर्माण नगरे विद्यालय जान नसकेर बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था बन्ने बताए । पुननिर्माणसँगै जीविकोपार्जनमा पनि योजनाहरू आउनुपर्ने भन्दै संघ र प्रदेश सरकारको साथ खोजे।
रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबाले पालिकाका धेरैले धनजनको क्षति बेहोरेको भन्दै उनीहरूको पीडामा मलम लाउने काममा संघीय सरकारले भूमिका खेल्ने अपेक्षा गरे।
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाका अनुसार, विस्तृत क्षति आंकलनका लागि रोशी गाउँपालिकाबाट तीनवटा क्लस्टरमा र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समेत गरी २२ जना प्राविधिक खटिनेछन्। पालिकाले अस्थायी आवास निर्माणका लागि विपत पोर्टलमा दाखिला गरेका ५ सय ६३ घरधुरीको विस्तृत क्षति आकलन हुनेछ। स्थलगत मूल्याङ्कनपछि प्राविधिकले दिने प्रतिवेदनका आधारमा प्राधिकरणले लाभग्राही यकिन गरेर रकम उपलब्ध गराउँछ।
प्रतिक्रिया दिनुहोस