विपदपूर्व तयारी गर्न स्वास्थ्य तथा पोषण क्लस्टरले गर्यो छलफल

नौलो समाचार संवाददाता
२०८२ बैशाख १५, सोमबार मा प्रकाशित १७५ पटक पढिएको
विपदपूर्व तयारी गर्न स्वास्थ्य तथा पोषण क्लस्टरले गर्यो छलफल

धुलिखेल / विपदपूर्व तयारी तथा प्रतिकार्य योजना बनाउन स्वास्थ्य तथा पोषण क्षेत्र (क्लष्टर)ले सरोकारवालासँग छलफल गरेको छ । बर्षाद्को समय सुरु भएसँगै किटजन्य तथा पानीजन्य रोगको जोखिम बढी हुने भन्दै क्लष्टरले छलफल गरेको हो ।

क्लष्टरको नेतृत्व गर्ने जनस्वास्थ्य कार्यालय काभ्रेले गरेको बैठकमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम, जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी, सुदर्शन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, जिल्ला स्थित राजनीतिक दल, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा सहितका नागरिक समाज र सरोकारवालाहरूको छलफलमा जिल्लाको वस्तुस्थितिबारे छलफल गर्दै तयारी र प्रतिकार्यमा सबैको भूमिका रहनेबारे छलफल गरियो।

जनस्वास्थ्य कार्यालयको तर्फबाट जनस्वास्थ्य अधिकृत प्रशंसा भण्डारीले प्रस्तुत गरेकोे विपदपूर्व तयारी तथा प्रतिकार्य योजनामा आफ्ना सुझाव राख्दै सहभागीहरुले अन्य सामाजिक संघसंस्थाहरुबाट पनि सहयोग लिनुपर्ने धारणा राखेका थिए । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका उपसभापति रमेश प्रसाद हुमागाई, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष रघुबर चौप्रधान, नेकपा एमालेका सचिवालय सदस्य प्रकाश रोक्का, नेकपा माओवादी केन्द्रका दिपेश बाँनिया, नेपाल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री राजु सिग्देल, नेपाल पत्रकार महासंघका सचिव नगेन्द्र अधिकारी लगायतले विपदमा खटिने एम्बुलेन्स, स्वास्थ्यकर्मी लगायतका जनशक्ति र स्रोत साधनहरू तयारी र दुरुस्त अवस्थामा रहनुपर्ने भन्दै विवरण अध्यावधिक गर्न सुझाव दिए ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमले तयारी राम्रो देखिएको भन्दै व्यवहारमा पनि उतार्दै बहुपक्षीय सरोकारवालालाई समेटेर विपदको समयमा काम गर्नुपर्ने सुझाव दिए।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले स्वास्थ्य क्षेत्रको विपद् व्यवस्थापनका लागि अस्पताल, जनशक्ति र स्रोत साधनसहित तयारी अवस्थामा रहनुपर्ने बताए । दातृ निकायको सहयोग र उद्धारका लागि हेलिकप्टरको मात्रै भर पर्न नहुने भन्दै उनले सडक सञ्जाल, अन्य वैकल्पिक स्वास्थ्य केन्द्र र सेवाको तयारी थाल्न निर्देशन दिए ।

जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले विगतको विपद व्यवस्थापनबाट पाठ सिक्दै आपत्कालीन अवस्थामा चाहिने औषधी लगायतका सामग्री र यातायातका पूर्वाधार अवरुद्ध भए टेलि–मेडिसिनबाट समेत सेवा दिन जनशक्ति तयार गर्नुपर्ने बताइन् ।

जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले छलफलबाट सामाजिक संघसंस्थाहरुलाई अझ समेट्न सुझाव आएकाले थप तयारी गर्ने बताइन् । स्थानीय तहसँगको सहकार्यमा वैकल्पिक स्वास्थ्य सेवा सञ्चालनको लागि समेत तयारी थाल्ने जानकारी दिइन् । विपद्को समयमा देखिन सक्ने कुपोषणको स्थिति आउन नदिन सामाजिक संघसंस्था, दातृ निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताइन् । जिल्लाका अस्पतालहरूको जनशक्ति र सेवाको उपलब्धताका बारे तथ्याङ्कसहित तयारी थाल्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस