बनेपा / काभ्रेपलाञ्चोक जिल्लाको पुरानो शिर मेमोरियल अस्पतालले स्वास्थ्य पूर्वाधार र सेवा थप्दै लगेको छ ।
६५ बर्षदेखि सेवा दिँदै आएको अस्पतालले स्वास्थ्यका पछिल्ला प्रविधी र सेवा भित्राएको हो ।
बुधबार अस्पतालले सिटी स्क्यान सेवा शुभारम्भ गरेको छ । बुधबार नै आयोजित कार्यक्रममा अस्पतालले हेमोडायलसिस सेवा र कक्ष विस्तार गर्न शिलान्यास समेत गरेको थियो । पूर्वमन्त्री समेत रहेका बाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले सेवा शुभारम्भ र शिलान्यास समेत गरेका हुन् ।
रोटरी फाउण्डेशन, रोटरी क्लब अफ बोनिटा बीच सनसेट, रोटरी क्लब अफ कुपण्डोल, रोटरी क्लब अफ काभ्रे बनेपा, एड्भेन्ट हेल्थ रकी माउण्टेन रिजन, एड्भेन्ट हेल्थ प्रेसिडेन्ट काउन्सिल, वासिङटन नेपाल फाउण्डेशन, लोमा लिण्डा युनिभर्सिटी, विनिफ्रेड स्टेभन फाउण्डेशन लगायतका संस्थाको सहयोग अस्पतालले ४ लाख ६० हजार अमेरिकी डलर लागतमा सिटी स्क्यान मेसिन भित्राएको छ । सेवा तथा पूर्वाधार निर्माणको लागि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले पनि आर्थिक सहयोग गरेका छन् ।
जर्मन रोटरी भोलेन्टियर डक्टर्सको सहयोगमा प्राप्त ५ करोड मूल्य बराबारका हेमोडायलासिस मेसिन मध्ये १० थान रोटरी क्लव अफ धुलिखेलले शिर मेमोरियल अस्पताललाई प्रदान गरेको थियो ।
केही दिन अघि मात्रै अस्पतालले अल्ट्रासाउन्ड, क्यान्सर लगायतका उपचारमा प्रयोग हुने ल्याप्रोस्कोपिक टावर, पाठेघर, मृगौलामा हुने पत्थरी लगायतको युरेटेरोस्कोप लगायतका उपकरण थप गरेको थियो ।
सेवा विस्तार गर्न दाताको सहयोगमा अस्पतालमा बहिरंग भवन निर्माण भइरहेको छ ।
कार्यक्रमममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम, बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, रोटरी फाउण्डेशनका सान्ड्रा हेमस्टेड, रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर राजेन्द्रमान शेरचन, बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, रोटरी क्लव अफ कुपण्डोलका अध्यक्ष लोचन जोशी, पूर्व अध्यक्ष बन्धु रञ्जन शर्मा, रोटरी क्लव अफ काभ्रे बनेपाका अध्यक्ष श्याम तिमल्सिना, शीर मेमोरियल मेडिकल एजुकेसन ट्रष्टका अध्यक्ष ब्रेट स्पेन्स्ट, अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेक्टर गायरस, प्रमुख कार्यकारी सल्लाहकार सुन्दर थापा मगर लगायतले मेसिन लगायतका उपकरणको लागि विभिन्न व्यक्ति र संघसंस्थाले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस