भकुण्डेबेशी / नमोबुद्ध नगरपालिकाको केन्द्र भकुण्डेबेशी क्षेत्रमा हेपाटाइटिस संक्रमण देखिएको छ। लक्षण देखिएर अस्पतालमा उपचार गराएका मध्ये १८ जनामा सङ्क्रमण देखिएको हो।
तीमध्ये एकजना अस्पतालमै कार्यरत चिकित्सक समेत छन्। वडा नम्बर २,३,४ र ६ का बालबालिका र नजिकको विद्यालयमा अध्ययनरत विद्यार्थीमा संक्रमण देखिएको मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले जानकारी दिए। उनका अनुसार, पानी वा खानेकुराबाट सङ्क्रमण भएको हुनसक्ने आशंकामा नमुना सङ्कलन गरी परीक्षणको लागि पठाइएको छ।
मङ्गलबारबाट जन्डिस लगायतका लक्षणसहित बिरामीहरू अस्पताल आउन थालेपछि नमुना सङ्कलन गरी परीक्षण गर्दा हेपाटाइटिस सङ्क्रमण पुष्टि भएको थियो। हेपाटाइटिस ए वा ई हो भने परीक्षणपछि मात्रै यकिन गर्न सकिने झाले बताए।
सङ्क्रमण फैलिएको जानकारी पाएपछि संघीय सरकारको स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जनस्वास्थ्य कार्यालय का प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, नगरप्रमुख कुनसाङ लामा लगायतले अस्पतालको टोलीसँग छलफल गरेको थियो।
भकुण्डेबेशी क्षेत्रमा वितरण भइरहेको खानेपानी र बजार क्षेत्रमा बिक्री भइरहेका पानीपुरी लगायतका खाद्यान्नका कारण संक्रमण भएको आशंका गरिएको छ।
सङ्क्रमण थप फैलिन नदिन सचेतना अपनाउन आग्रह गर्दै जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख श्रेष्ठले खानेपानी, खानेकुरामा सरसफाई अपनाउन अनुरोधकासाथै शुद्धिकरण गर्न सामग्रीहरू वितरण गरिएको बताइन्।
प्रतिक्रिया दिनुहोस