धुलिखेल / काभ्रेपलाञ्चोकलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकले आइतबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र प्रदेश खोप समन्वय समितिका सदस्य सचिव रहेका स्वास्थ्य निर्देशक डा. नरेन्द्रकुमार झाले जिल्ला खोप समन्वय समिति काभ्रेका अध्यक्ष रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम र सदस्य सचिव रहेका जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

१६ देखि २३ महिना सम्मका ४ हजार २ सय ४१ बालबालिका र १५ महिनासम्मका ४ हजार २ सय ५० बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित भएपश्चात २०८२ असार १६ गते बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले पूर्णखोप सुनिश्चितता घोषणा गर्न अनुमति प्रदान गरेको थियो ।
कार्यक्रममा स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले मानव स्वास्थ्यमा खोपको अति महत्व भएको चर्चा गर्दै पूर्णखोप सुनिश्चितता गर्न भूमिका खेल्ने सबैमा आभार प्रकट गरिन्। नेपालको पहिलो स्वास्थ्य शहर घोषणा भएको धुलिखेलबाट प्रेरणा लिएर प्रदेशका हेटौंडा उपमहानगरपालिका र चन्द्रागिरी नगरपालिकालाई स्वस्थ शहर, गोसाइकुण्ड गाउँपालिकालाई स्वास्थ्य पर्यटनको हिसाबले विकास गर्न खोजेको जानकारी दिँदै उनले ‘एक जिल्लामा एक नमुना स्वास्थ्य संस्था’ बनाउन प्रदेशले नीति, कार्यक्रम र बजेट ल्याएको जानकारी दिइन् ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार श्रेष्ठले मुलुकको भविष्यका लागि पनि सरकारले मानिसको ज्यान जोगाउनको लागि खोप लगायतका विषयमा ध्यान दिनुपर्ने तर्क गरे । विश्वमा ३ सय ४२ खर्ब ५० अर्ब खोपमा खर्च हुने तथ्य प्रस्तुत गर्दै उनले यसले आर्थिक, सामाजिक, मनोवैज्ञानिक र मुलुकको भविष्यमा समेत प्रभाव पार्ने बताए ।

चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले आफ्नो पालिकामा बसाईं सराइ उच्च भएकाले जनसंख्या वृद्धिदर नकारात्मक भएको भन्दै त्यहाँका स्वास्थ्य संस्थामा जनशक्तिका साथै अन्य पूर्वाधारहरू थपेर स्थानीयलाई सेवा दिनुपर्ने तर्क गरिन् ।
बागमती प्रदेशका स्वास्थ्य निर्देशक डा. नरेन्द्र कुमार झाले खोप कार्यक्रम अत्यन्तै लागत प्रभावकारी कार्यक्रम भएकोले खोपको खेर जाने दर घटाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपानेले पूर्णखोप सुनिश्चितताका लागि भूमिका खेल्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई विशेष आभार प्रकट गर्दै निरन्तरताको अपेक्षा गरे ।
चलाल गणेशस्थान स्वास्थ्यचौकीमा कार्यरत सिनियर अ.न.मी. इन्दिरा खड्का बुढाथोकीले कामको मूल्याकंन गरेर सम्मान गरेकोमा आभार प्रकट गरिन् ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका निरु अधिकारीले खोप नै जीवन हो भन्दै बालबालिकाको जीवन रक्षा को लागि खोप पाए नपाएको यकिन गर्न दुई तीनपटकसम्म घरमा गएर यकिन गरेको बताइन्।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष रहेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमले बालबालिकाको जीवन रक्षाको लागि तल्लो तहमा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्दै पूर्ण खोप सुनिश्चितता गर्नुलाई स्थानीय तहले दायित्व र उत्सवकै रुपमा लिएको बताए ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले सबैको मेहनत र खटाइले जिल्लालाई पूर्णखोप सुनिश्चित गर्न सफलता मिलेको तर्क गरिन् ।
कार्यक्रममा अभियान सफल गर्न भूमिका निभाउने खोपकर्तामध्ये उत्कृष्ट कार्य गरेबापत खोपकर्ताहरू दुर्गा अधिकारी, कान्छा बाँनिया, ममता श्रेष्ठ, विशाल खाइजु, मिनाकुमारी जोशी, कल्पनाकुमारी तामाङ, शुभेच्छादेवि कायस्थ, गोमा दाहाल, फुलमती तामाङ, जेनिशा थिङ, निरमाया लामा, इन्दिरा खड्का बुढाथोकी र श्रीराम कुमार रामलाई सम्मान गरिएको थियो।

खोप भण्डारण, व्यवस्थापन र कोल्ड चेन व्यवस्थापन गर्न भूमिका खेल्ने जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय सहयोगी शेरबहादुर प्रधान र सुजन थापालाई कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलसहितका अतिथि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मीहरूले पूर्ण खोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरेका छन् ।






प्रतिक्रिया दिनुहोस