बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

नौलो समाचार संवाददाता
२०८२ श्रावण २७, मंगलबार मा प्रकाशित ३१७ पटक पढिएको

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

हेटौंडा / नेपाली कांग्रेस संसदीय दलका नेता रहेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसकै बहादुरसिंह लामालाई अविश्वासको प्रस्ताव पारित गराएर दलको नेता हटाएर लामा नेतृत्वको सरकार विस्थापित गरेर साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले मंगलबार बागमती प्रदेशसभाको बैठकमा विश्वासको मत लिएका हुन् ।

१ सय १० सदस्यीय प्रदेश सभामा उनले ६३ मत प्राप्त गरेका छन् । कांग्रेस ३६ र एमालेका २७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका छन् । विदेशमा रहेका कांग्रेसका प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार मंगलबारको प्रदेश सभा बैठकमा अनुपस्थित थिए । विपक्षमा २२ मत र ७ सांसद तटस्थ बसेका थिए । कुल ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ सांसदको आवश्यकता थियो ।

बहादुरसिं लामा पक्षका १३ सांसदले दबाब बढाउन ‘विश्वासको मतको पक्षमा मतदान नगर्ने’ बताइएपनि अन्तिम समयमा बैठक स्थलमा सहभागी भएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासंग सरकार विस्तारमा उनको पक्षलाई पनि समेट्ने सहमतिपछि लामाको पक्षमा रहेका सांसदहरुले पक्षमा मतदान गरेको बताइएको छ ।

बागमतीका १४ मन्त्रालय मध्ये एमालेले पाएको ६ मन्त्रालयमा मन्त्री नियुक्त भइसकेका छन् । मुख्यमन्त्री बानियाँले कांग्रेसका तर्फबाट खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ (समिर) र शिवराज अधिकारी मन्त्री नियुक्त भएका छन् । अधिकारीको मन्त्रालय तोकिएको छैन ।






प्रतिक्रिया दिनुहोस