रोशी गाउँपालिकामा गत बर्ष आर्थिक प्रगती ८७ दशमलव १८ प्रतिशत

नौलो समाचार संवाददाता
२०८२ कार्तिक २७, बिहिबार मा प्रकाशित २०६ पटक पढिएको

रोशी गाउँपालिकामा गत बर्ष आर्थिक प्रगती ८७ दशमलव १८ प्रतिशत

रोशी / बाढी, पहिरोजस्ता विपद् सामाना गरेको रोशी गाउँपालिकाले गत आर्थिक बर्षमा ८७ दशमलव १८ प्रतिशत बजेट खर्च गरेको छ ।

आर्थिक बर्ष २०८१/०८२ को बार्षिक समिक्षा गर्न बिहिबार आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले आर्थिक प्रगती ८७ दशमलव १८ प्रतिशत भएको विवरण प्रस्तुत गरेका हन् ।

प्रतिवेदन अनुसार, सामाजिक बिकासमा ८७ दशमलव ३६ प्रतिशत, पूर्वाधार बिकासमा ७३ दशमलव ३१ प्रतिशत, वन, वातावरण तथा विपद व्यवस्थापनमा ९५ दशमलव ०४ प्रतिशत र सुशासन तथा संस्थागत बिकासमा ७७ दशमलव ६७ प्रतिशत प्रगति छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले सेवा प्रवाह गर्ने निकाय र सेवा ग्रहण गर्ने समुदायबीचको तारतम्य मिलेन भने त्यसको कुनै अर्थ नहुने बताए । विपद प्रभावित गाउँपालिकाले तत्काल उद्धार, राहत, पुनर्निर्माण र पुनस्र्थापनामा जोड दिंएको जानकारी दिँदै ६० बर्षभन्दा माथीका नागरिकका परिवारकै निःशुल्क स्वास्थ्य विमा गरेको, सुत्केरी आमा, पोषिलो खाना जस्ता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी समिक्षाका क्रममा सिकेका कामलाई आत्मसात गर्दै त्रुटी सच्याउदै अघि बढ्नुपर्ने बताए ।

रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईबाले बाढी पहिरो जस्ता विपद्ले थला पारेको रोशी गाउँपालिका पुनःनिर्माण र समृद्ध रोशी निर्माणमा जुटेको बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले विपद् वा आन्दोलनमा प्रहरी अग्रपंक्तिमा उभिने भन्दा जेनजी आन्दोलनको नाममा घुसपैठ गरी तोडफोडमा उत्रेका जो कोहीलाई कारवाहीको दायरामा ल्याउने तर्क गरे ।

सोही कार्यक्रममा गाउँपालिकाले सार्वजनिक सुनुवाइ र इलाका प्रहरी कार्यालय मंगलटारले नागरिक सुनुवाई कार्यक्रम पनि गरेको थियो । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीले कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल १५ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अधिकृत कृष्ण प्रसाद सापकोटा, रोशी गाउँपालिकाका वडाध्यक्ष, कर्मचारी, स्थानीय लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस