काठमाडौं / नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी शर्मा ओली पुनः नेतृत्वमा पुगेका छन् ।
आफ्ना वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसंग निर्वाचन लडेका ओली तेस्रो पटक अध्यक्ष निर्वाचित भएका हुन् ।
२ हजार २ सय २६ मत खसेकोमा ओलीले १ हजार ६ सय ६३ र पोखरेलले ५ सय ६४ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
अन्तिम मत परिणाम अनुसार, १९ सदस्यीय पदाधिकारीमा अधिकाशं ओली समूहका उम्मेदवारहरू नै निर्वाचित भएका छन् । पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका छन् ।
उपाध्यक्षमा ओली समूहका विष्णु पौडेल, रामबहादुर थापा र पृथ्वी सुब्बा गुरुङ निर्वाचित भए । संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त पनि उपाध्यक्ष निर्वाचित भएका छन् । पोखरेल समूहका गोकर्ण विष्ट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा विजयी भएका छन् ।
महासचिवमा ओली समूहका शंकर पोखरेल निर्वाचित भए । उनी यसअघि पनि महासचिव थिए । १ हजार २ सय २८ मत ल्याएका पोखरेलले ९ सय ९९ मत ल्याएका सुरेन्द्रप्रसाद पाण्डेलाई पराजित गरे ।
उपमहासचिवमा ओली प्यानल समूहका लेखराज भट्ट र रघुवीर महासेठ तथा पोखरेल समूहका योगेश भट्टराई विजयी भएका छन् ।
सचिवमा भने सबै ओली समूहका निर्वाचित भएका छन् । सबैभन्दा धेरै मत महेश बस्नेतले प्राप्त गरेका छन् । बस्नेतले १ हजार ५ सय ४४ मत पाए । पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, र भानुभक्त ढकाल सचिवमा निर्वाचित भए ।





प्रतिक्रिया दिनुहोस