करेन्ट लागेर धुलिखेलमा एक मजदुरको मृत्यु

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ ३, शनिबार मा प्रकाशित २१९ पटक पढिएको
करेन्ट लागेर धुलिखेलमा एक मजदुरको मृत्यु

धुलिखेल /  काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा करेन्ट लागेर विद्युत पोलमा काम गरिरहेका एक मजदुरको ज्यान गएको छ ।

धुलिखेल नगरपालिका वडा नं ७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको सडकमा विद्युत पोलमा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १२ घारिबथान बस्ने अन्दाजी २८ बर्षीय उपेस परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक (डिएसपी) मिन घलेले जानकारी दिए ।

प्राधिकरणमार्फत नै ११ केभिए हाइटेन्सन लाइनमा विद्युत पोलमा चढी काम गरिहेका परियारलाई एक्कासी करेन्ट लाग्दा उनी पोलमा नै झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए । उनको शव पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

नेपाल विद्युत प्राधिकरणको काभ्रे वितरण केन्द्रले शुक्रवार सूचना जारी गरेर धुलिखेल बसपार्कदेखि सरस्वतीबजार, सि.डि. ओ. कार्यालय हुँदै हजार सिढी जाने बाटो सम्मको डबल सर्किट ११ के.भि. लाइन मिति २०८२/२/३ गतेबाट चार्ज गरिने भएकोले सो विस्तार गरिएको लाइनको वरिपरी गाईबस्तुहरू नछाड्न एवं पोल, स्टे लगायतका सामग्रीमा नछुन अनुरोध गर्दै केही कैफियत जस्तै स्पार्कहरू देखिएमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको थियो । तर, विना जानकारी करेन्ट छोड्दा करेन्ट लागेर उनका मृत्यु भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस