कृषि, पशु सेवा र बागवानी विकासको प्रगति समिक्षासँगै योजना तर्जुमा गरियो

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ ६, मंगलबार मा प्रकाशित २०६ पटक पढिएको
कृषि, पशु सेवा र बागवानी विकासको प्रगति समिक्षासँगै योजना तर्जुमा गरियो

धुलिखेल / बाग्मती प्रदेश सरकार मातहतका कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र बागवानी विकास केन्द्रले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक अवधिसम्मको प्रगती समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गरेका छन् ।

मंगलबार धुलिखेलमा जनप्रनिधि, कृषक, समुह, सहकारी लगायत सरोकारवालाको उपस्थितीमा ती कार्यालयले जिल्लाको कृषि तथा पशुपालन क्षेत्रका आगामी योजना तर्जुमा गर्नुका साथै प्रगति समिक्षा गरेका हुन् ।

कृषि विकास कार्यालयका प्रमुख कुल प्रसाद दवाडी, पशु सेवा कार्यालयका प्रमुख डा.सृजा वाग्ले र बागवानी विकास केन्द्र पाँचखालका प्रमुख विष्णु बोगटीले चालु आर्थिक वर्षको प्रगती विवरण र आगामी आर्थिक वर्षको योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागार्इं, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवार, रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवा, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपाने, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार लगायतले कार्यक्रम र अनुदानमा दोहोरोपना नहुने गरी कार्यक्रम गर्न अनुरोध गर्दै स्थानीय तहसँग पनि समन्वय गर्न अनुरोध गरेका थिए ।

मकै, धानको उन्नत बीउ उत्पादन गरिरहेको आत्मनिर्भर बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष केदारप्रसाद सापकोटाले विदेशी हाइब्रिड बीउ कृषकको आकर्षण र बाध्यता दुबै भएको भन्दै नेपालमा नै हाइब्रिड बीउ उत्पादन गर्न बजेट बिनियोजन गर्न अनुरोध गरे ।

नेपाल डेरी एशोएिससनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध पदार्थको खपत बढाउन नीति तथा कार्यक्रम आउनुपर्ने बताए ।

पनौती ८ का कृषक इन्दु श्रेष्ठले कृषक परिचयपत्रको माग गरिन् ।

सहभागीहरुले भूगोल अनुसारको कार्यक्रम र कृषक लाभान्वित हुने कार्यक्रम गर्न सुझाव दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस