धुलिखेल अस्पतालमा स्वास्थ्य सेवासँगै ‘सामाजिक कृयाकलाप’

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ ८, बिहिबार मा प्रकाशित ४७० पटक पढिएको

धुलिखेल अस्पतालमा स्वास्थ्य सेवासँगै ‘सामाजिक कृयाकलाप’
तस्वीरहरु सौजन्य : धुलिखेल अस्पताल

धुलिखेल /  अस्पताल भन्नेवित्तिकै चिकित्सक, स्वास्थ्यकर्मी, विरामी, शल्यक्रिया, उपचार लगायतका कुरा हुन्छ । तर, काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको धुलिखेल अस्पतालले स्वास्थ्य सेवाका अलावा थुप्रै ‘सामाजिक कृयाकलाप’ गरिरहेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

अस्पतालको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागमार्फत कृषि लगायत आयआर्जनका कामहरु भइरहेको छ । बिहीबार सामुदायिक दिवस मनाउन आयोजित कार्यक्रममा यसबारे जानकारी साथै धेरै सफलताका कथाहरु सुनाइयो ।

सामुदायिक कार्यक्रम विभागका हेल्थ प्रोग्राम लिड (प्रमुख) दिनेश थापाका अनुसार, अस्पतालले समुदायमा आय–आर्जनका काम गरिहेको छ । विभिन्न समूहमा आवद्ध महिलाले २५ हजार रुपैयाँसम्म जम्मा ४ प्रतिशत व्याजमा ऋण पाउँछन् । यसैबाट उनीहरुले पशुपालन, माछापालन र तरकारी खेती गर्ने गरेको उनले जानकारी दिए । रोग लाग्न नदिने र सुरक्षित प्रसुति सेवाका लागि सहजीकरण र सहयोग गर्न ‘समुदाय स्वास्थ्य सहयोग’ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

अस्पतालले १८ वटा आउटरिच सेन्टरमार्फत विभिन्न जिल्लाका ग्रामिण भेगमा पनि स्वास्थ्य सेवा दिइरहेको छ ।

कार्यक्रममा सामुदायिक सेवा विभागमा कार्यरत नर्स विनुदेवी बस्नेत र बाहुनेपाटी स्वास्थ्य केन्द्रमा कार्यरत बच्चुराम नेपाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धुलिखेल अस्पतालले दिने सेवा, गुणस्तरको प्रशंसा गर्दै डा. रामकण्ठ माकजूको नेतृत्वमा अस्पतालले धेरैलाई सेवा दिएको चर्चा गरे । राम्रो काम गर्न धेरै गाह्रो र नराम्रो काम गर्न सजिलो हुने तर्क गर्दै उनले नेतृत्वका कारण पनि अस्पताल यो स्थानसम्म आइपुगेको बताए ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ माकजू श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ एवं केयु स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन प्रा.डा. राजेन्द्रप्रसाद कोजु, फलेबास आउटरिच पर्वतका अध्यक्ष भोलानाथ शर्मा, दाप्चा हेल्थ सेन्टरका अध्यक्ष मोहनकुमार श्रेष्ठ लगायतले आउटरिचमार्फत ग्रामिण समुदायमा पुगेको सेवा र सामुदायिक कार्यक्रमको प्रभावकारिताबारे चर्चा गरेका थिए ।

अस्पतालका प्रशासकीय निर्देशक डा. बिराजमान कर्माचार्यले समुदायमा सञ्चालित कार्यक्रम र यसबाट लाभान्वितहरु देख्दा खुशी लाग्ने बताए ।






प्रतिक्रिया दिनुहोस