बालगृह धान्न ‘साहारा’लाई श्रोत अभाव

नौलो समाचार संवाददाता
२०८२ अषाढ ३०, सोमबार मा प्रकाशित ६२१ पटक पढिएको

बालगृह धान्न ‘साहारा’लाई श्रोत अभाव

धुलिखेल / नीजि तवरबाट धुलिखेल नगरपालिका वडा नम्बर ३, बाँसघारीमा सञ्चालित बालगृहले स्थायी स्रोत र दाता नहुँदा सञ्चालनमा कठिनाइ भएको बताएको छ ।

स्थानीय समाजसेवी, व्यवसायी र दाताको सहयोगमा सञ्चालित ‘सहारा बालगृह’ले सोमबार धुलिखेलमा सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा सञ्चालकहरुले यस्तो दुखेसो पोखेका हुन् ।

बालगृहलाई नियमित सहयोग गर्दै आएकी स्थानीय व्यवसायी एवं समाजसेवी ज्योत्सना सैंजुले १० जना बालिकाले आश्रय लिइरहेको बालगृहले आर्थिक संकट र स्रोतको अभाव झेलिरहेको बताइन् । मानवीय सेवाको भावले खोलेको बालगृह सञ्चालन गर्न सरकारले ल्याएको नयाँ मापदण्डका कारण कठिनाइ भइरहेको उनले बताइन् । ‘अहिले संस्थामा विदेशी दातृ निकायको सहयोग नियमित छैन, हामी सञ्चालकहरुले नै पैसा उठाएर दुःखजिलो सञ्चालन गरिरहेको छौँ,’ उनले भने, ‘मैले सञ्चालन गरेको होटलको पर्दा, कुर्सीहरू मर्मत सम्भार गरेर प्रयोग गरिरहेका छौं, लिलामी निस्केका सामानहरू सकारेर पनि बालगृहलाई आवश्यक सामानको जोहो गर्ने गरेका छौं, केही सहृदयी मनले सहयोग गरेको आधारमा मात्रै बालगृह चलिरहेको छ ।’

दर्तावाल लेखापरीक्षक हेमराज काफ्ले र सामाजिक परीक्षणकर्ता हरिबोल काफ्लेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार, चालु आर्थिक वर्षमा ५ लाख ९८ हजार आम्दानी गरेको सहाराको सञ्चालन खर्च ६ लाख ९ हजार छ ।

दातृ निकायका प्रतिनिधि भाइराजा श्रेष्ठले नेपाल आउँदा जापानका केही दाताले बालगृहलाई सहयोग गर्ने गरेपनि कोरोनापछि त्यो क्रम रोकिएको बताए । ट्रेकिङ व्यवसायमा रहेका उनले नेपाल आउने केही जापानी लगायतका पर्यटकले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि यकिन भने भइनसकेको बताए ।

बालगृहलाई सहयोग गर्दै आएका स्थानीय अभिभावक गोविन्दबहादुर घिमिरेले समुदायले बेलाबखतमा गर्ने सहयोग पर्याप्त नहुने भन्दै दातृ निकायले सहयोग गर्न नसक्ने अवस्थामा स्थानीय सरकारले सञ्चालनको जिम्मेवारी लिनुपर्ने बताए ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले मानवीय सेवा नै सबैभन्दा ठूलो पुण्यको काम भएको तर्क गर्दै बालश्रममुक्त शहर बनाउने अभियानमा रहेको बालमैत्री शहर धुलिखेलले बालगृहमा रहेका १० जना बालिकाको सम्पूर्ण जिम्मेवारी लिने प्रतिवद्दता । स्रोतको कुनै पनि अभाव नहुने प्रतिवद्दता जनाउँदै उनले अन्य दातृ निकायका साथै स्थानीय सरकारले यसको सम्पूर्ण जिम्मेवारी बहन गर्ने बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष गंगा दोङ, क्षेत्रीय होटल संघ धुलिखेलका अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठ, साहारा बालगृह का अध्यक्ष सुरेनकुमार माकाजु श्रेष्ठलगायतले सबैको साथ र सहयोग भए बालगृहमा आश्रित बालिकाको पालनपोषण र शिक्षामा सहयोग पुग्ने धारणा व्यक्त गरे ।






प्रतिक्रिया दिनुहोस